ज्ञानदिपमा विद्यार्थीले नयाँ के पाउँने ?

साउन २३, २०७६  

२०७६, तुलसीपुर,२३

Advertisement

१. ज्ञानदीप कलेजले कस्ता शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ?
यस क्षेत्रमा लामो इतिहास वनाएको ज्ञानज्योति फाउन्डेसनले यो कलेज सञ्चालन गरेको हो । विस वर्ष अगाडि स्थापना भएको यस फाउन्डेसनले शिशु कक्षादेखि स्नातक तहसम्मको कार्यक्रम सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर २०७० सालबाट ज्ञानदिपमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । हामीले यस क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनका लागि यो क्षेत्र या जिल्ला वाहिर नै जानुपर्ने वाध्यतालाई मनन गरेर यहाँ नभएका विषयको अध्यापनलाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौ ।

२. भन्नाले …?
अव यो क्षेत्रमा विज्ञान संकायको स्नातक तह सञ्चालन भएको थिएन । हामीले त्यो विषयको सुरुवात गर्यौ । यो क्षेत्रमै स्नातक तहको कक्षा सञ्चालन गर्ने हामी पहिलो र अहिलेसम्म एकमात्र कलेज पनि हौं । यो कलेज सञ्चालनमा आएपछि आर्थिक अवस्था कम हुने या विविध कारणले वाहिर जानुपर्ने विद्यार्थीको वाध्यताको अन्त्य भएको छ । योसंगै हामीले व्यवस्थापन संकाय पनि सञ्चालन गरिरहेका छौ । उपत्यका भन्दा वाहिरका कलेजहरुमा विरलै अध्यापन हुने आमसञ्चार तथा पत्रकारिता विषय पनि यो कलेजमा विद्यार्थीहरुले अध्ययन गर्न पाएका छन् । अर्को मुख्य कुरा भनेको विसिए जस्तो समय सापेक्ष संकायको सञ्चालन हो ।

Advertisement

त्रिभुवन विश्वविद्यालयसँग सम्वन्धन दिएर सञ्चालन गरिएको यो विषयमा सिमित कोटा रहेको छ भने विद्यार्थीको आकर्षण बाक्लिदै गएको छ । मैले अघि नै भनेको कुरा के हो भने हामी यस क्षेत्रलाई शैक्षिक हवका रुपमा विकास गर्नका लागि शिक्षा क्षेत्रमा नयाँ र नौला खालका शैक्षिक कार्यक्रमहरु सञ्चालनलाई प्राथमिकतामा राखेका छौ ।

३. अहिले कलेजहरुमा प्रयोगात्मक कक्षाहरु प्रभावकारी रुपमा हुदैनन् भन्ने गुनासो छ त ?
यहाँले भनेजस्तै कतिपय कलेजहरुमा त्यस्तो अवस्था पनि हुन सक्ला । तर हाम्रो विषयमा यो कुरा गर्न खोज्नुभएको हो भने प्रयोगात्मक कक्षाका सन्दर्भमा हामीले जहिल्यै पनि पहिलो प्राथमिकता दिएर काम गर्यौ । हाम्रा विद्यार्थीहरुले पढ्नुका अलावा विषयगत रुपमा केही कुरा सिकुन भन्नेमा हामी सधै कटिवद्ध छौ ।
प्रयोगात्मक कक्षा सञ्चालनका लागि साधन स्रोत र जनशक्ति नै मुख्य कुरा हो । अव विज्ञान संकायको कुरा गर्नुहुन्छ भने हामीले यो क्षेत्रकै नमुनाको रुपमा प्रयोगशाला वनाएका छौं र थप त्यसलाई आधुनिक वनाउन हामी अझै प्रयत्नशिल छौ । आमसञ्चार तथा पत्रकारिताको सवालमा कुरा गर्दा हाम्रा विद्यार्थीहरु यस क्षेत्रका प्रतिष्ठित सञ्चार माध्यममा काम गर्नुका साथै नियमित रुपमा रेडियो कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् ।आधुनिक सूचना प्रविधिसँग जोडिएको विसिएको कुरा गर्नुहुन्छ भने हामीले प्रविधि जडित छुट्टै कक्षामा यसको अध्यापन गराएका छौ भने प्रयाप्त ल्यापटप सहितको आधुनिक कम्प्युटर ल्याब समेत रहेको छ । यसका साथै व्यवस्थापन अन्तर्गत विद्यार्थीहरुलाई विभिन्न समयमा वैकिङ, एकाउन्टिङ, ट्याली र अडिटका विभिन्न तालिम सञ्चालन गरिरहेका छौ । यसकारण प्रयोगात्मक कक्षाका सन्दर्भमा हामीले कुनै पनि खालको गुनासो गर्ने ठाउँ दिएका छैनौ ।
४. ज्ञानदिपमा विद्यार्थीले नयाँ के पाउँने ?
यहाँले गर्नुभएको प्रश्न निकै जायज छ । यो प्रश्न जायज हुनुको कारण यो पनि होकी यही प्रश्नलाई मुत्रमन्त्र ठानेर हामीले कलेज सञ्चालन गरेका हौं । अन्य शैक्षिक प्रतिष्ठानका विचमा हामीले आफुलाई फरक ढँगले उभ्याउन सकेनौ भने कलेज स्थापना गर्नुको कुनै औचित्य हुँदैन भन्ने कुरामा हामी विश्वस्त छौ । पहिलो कुरा ज्ञानदिप शैक्षिक क्षेत्रको वगैचा हो । जहाँ विभिन्न खाले फूलहरु फुलेका छन् । अब विद्यार्थीलाई जुन फुल राम्रो लाग्छ अर्थात जुन विषय ठीक लाग्छ त्यही अध्ययन गर्न सक्छ । हामीसँग स्नातक तहमा अध्ययन गर्नका लागि छनौटको प्रशस्त सुविधा छ । अर्को कुरा सबै खाले अभिभावकको कलेजमा पहुँच होस् भन्नका लागि शैक्षिक शुल्क निर्धारण गर्दा विशेष ध्यान दिने गरेका छौ । यो सँगै शिक्षा क्षेत्रमा अत्यन्त उर्जावान भएर काम गर्ने शिक्षक कर्मचारीको व्यवस्थापन भएकाले पनि विद्यार्थीले नयाँ र अन्य भन्दा फरक अनुभुति गर्ने खालेको वातावरण सृजना भएको छ ।

५. गत सालबाट सञ्चालनमा आएको विसिए को वारेमा केही भन्नु न ?
आधुनिक सूचना प्रविधिको वारेमा अध्यापन हुने विसिए अर्थात व्याचलर इन कम्प्युटर एप्लिकेसन नितान्त नयाँ विषय हो । यो सेमेस्टर प्रणालीबाट अध्यापन हुने गरेको छ । ४ वर्षका लागि ८ सेमेष्टरमा अध्ययन हुने गर्दछ । आज मानिसको सम्पूर्ण जीवनशैली कम्प्युटरमय भएको छ । आफुलाई चाहिने सामान मान्छेले विभिन्न मोवाईल एप्लिकेसन्सको प्रयोग गरेर घरैबाट किन्ने मात्रै होइन विश्वलाई नै औलामा नचाइरहेको छ । आजको युगमा प्रविधि जान्नु आफैमा निकै आवश्यक कुरा हो ।
समयको मागलाई सम्बोधन गर्ने गरी विसिएको पाठ्यक्रम निर्माण गरिएकाले पनि यो वढि प्रयोगात्मक र समसामयिक पनि रहेको छ । हामीले त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएर यो कार्यक्रम सञ्चालन गरिरहेका छौं । विद्यार्थी सिमित संख्यामा अर्थात ३५ जना मात्रै अध्यापन गराउन पाइने भएकाले सबै विद्यार्थीले अध्ययनको अवसर पाउन सकिरहेका छैनन् । अहिलेसम्मको अनुभवका आधारमा भन्नुपर्दा यो विषयतर्फ विद्यार्थीको निकै क्रेज देख्न सकिन्छ ।

६. अनि अन्य विषयहरु नि …?
विज्ञान र व्यवस्थापन विषयको महत्वका वारेमा मैले खासै उल्लेख गर्नुपर्दछ जस्तो लाग्दैन । हामीकहाँ यो विषय अध्यापन गर्ने नब्बे प्रतिशतभन्दा बढि विद्यार्थीहरु कुनै न कुनै जागिरमा लागेकै छन् । अब पत्रकारिताको कुरा गर्नुपर्दा अहिले त यसको माग निकै वढेर गएको छ । राज्य र समाजलाई निर्देशित गर्ने राज्यको चौथो अंगको उपमा पाएको पत्रकारिता जगतलाई जिम्मेवार वनाउनका लागि पढेको हुनुपर्दछ भन्ने आवाज सबैतिरबाट उठ्दै आएको देखिन्छ । यस हिसावले पनि अहिले लामो समय पत्रकारिता गरेकाले पनि यो विषय अध्ययन गरिरहेका छन् ।
७. निजी क्षेत्रबाट खोलिएको कलेजमा सामान्य आर्थिक अवस्था भएको विद्यार्थीका लागि त गाह्रो छ नि है ?
यहाँले भनेजस्तै कतिपयमा यो भ्रम पनि हुन सक्छ । हामीले फाउन्डेसन मार्फत धेरै विद्यालय सञ्चालन गरेका छौ । सबैको उद्देश्य फरक फरक छ । प्रशस्त विद्यार्थी हुने सहरबाट टाढा गएर गाउँमा समेत हामीले विद्यालय सञ्चालन गरेका छौ । यसको मुख्य कारण भनेको सेवामुखी भावना नै हो । ज्ञानदिप कजेल पनि फाउन्डेसन अन्तर्गतको कलेज हो ।

निजी स्तरबाट खोलिएको हुनाले अवश्य पनि शुल्क केही तिर्नै पर्दछ । तर हामीले सामान्य परिवारका विद्यार्थीहरुले पनि पढ्न सकुन् भन्नका लागि शुल्क सोही अनुसार निर्धारण गरेका छौं । हामीकहाँ आधाभन्दा वढि त्यस्ता विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । योसँगै हामीले राम्रो नतिजा ल्याउने, विभिन्न जातजाति, दलित, गरिब , विपन्न , अल्पसंख्यक लगायतकालाई छात्रवृत्ति समेत दिदै आएका छौ । आर्थिक अवस्था मात्रै मुख्य केन्द्रमा राखेको भए हामीले त्यस्तै खालका विषयलाई प्राथमिकता दिने थियौ । विज्ञान र पत्रकारिता जस्ता विषय अध्यापन गराउने नै थिइनौ । यसकारण मलाई लाग्छ सामान्य आर्थिक अवस्था भएको मान्छेले पनि ज्ञानदिप मेरोलाई सबै दृष्टिले योग्य छ भनेर आइरहेको छ, आइरहनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस