साहित्य राजनीति निरपेक्ष हुन सक्दैन

जेठ २०, २०७६  

 

Advertisement

 

(२०३६ साल कार्तिक १० गते सल्यानको माल्नेटामा जन्मनुभएका साहित्यकार एवं अनुवादक प्रमोद धितालले विशेष गरी कविता र लेख–निवन्ध विधामा कलम चलाउँदै आउनुभएको छ । वहाँका फुुटकर रचनाहरु नेपाली तथा हिन्दी पत्रपत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् । साथै वहाँले ‘जनसंस्कृति’, ‘वेदना’, ‘जनज्वार’, ‘शब्दशिखा’ लगायतका साहित्यिक पत्रिकाहरुको सम्पादन गर्नुभएको छ । साहित्यिक विषयमा केन्द्रित रही पत्रकार आभास बुढाथोकीले गरेको कुराकानी । –सम्पादक)

Advertisement

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

यतिखेर के जेफ केलरको विनिङ एटिच्यूड नामक पुस्तक पढ्दै छु ।
वर्तमान समयमा कुन विधामा बढि सृजनाहरु रचना गरिरहनुभएको छ ?

वर्तमान समयमा पत्रपत्रिकाहरुको लागि लेखहरु र कविता तथा अनुवाद सम्बन्धि कामहरु गरिरहेको छु ।
आफूलाई मन पर्ने विधा ?
पठनको हिसाबले मलाई सबै विधाहरु मन पर्छन् । लेखनको हिसाबले कविता तथा लेख, निवन्धहरु नै हुन् । पछिल्लो समयमा अनुवाद तिर पनि रुचि बढेको छ । जस अन्तर्गत कवि सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’को हिन्दीमा अनुदित कविता संग्रह प्रकाशित पनि भइसकेको छ ।
समकालीन साहित्यको मूल्यांंकन कसरी गर्नुहुन्छ ?
यतिखेरको साहित्यको कुरा गर्दा कविता विधामा प्रभावकारी ढंगले काम भएको छ । पुरानो देखि नयाँ पुस्ताका कविहरुले यस विधामार्फत सामाजिक तथा राजनीतिक सरोकारका विविध पक्षहरुमा सार्थक हस्तक्षेप गरिरहेका छन् । आख्यान अहिले बढि बजार प्रभावित छ । अहिले लेखिनुपर्ने सामाजिक इस्युहरु पनि आएका छन् तर कम मात्रामा । सस्तो लोकप्रियताको लागि आख्यानलाई लिइएको छ । त्यसको लागि प्रगतिशील÷प्रगतिवादी कोणबाट अलि बेसी काम यो विधामा हुन आवश्यक देखिन्छ । निवन्ध विधाको लेखनको अवस्था संख्यात्मक हिसाबले नै कम्जोर छ । समालोचनामा कि प्रशंसा या निषेधकारी प्रवृत्ति विद्यमान छ । वर्तमान लेखनलाई दिशा निर्देश गर्ने हदसम्म सृजनशील समालोचना लेखिरहेजस्तो लाग्दैन । यी कमीहरुलाई पुरा गर्नको लागि अनुभवी र नयाँ पुस्ताले आत्मसमीक्षा सहित लेखन कर्मलाई शशक्त बनाउनुपर्ने आवश्यकता छ ।
प्रगतिवादी साहित्यको अवस्था कस्तो पाउँनु हुन्छ ?
प्रगतिवादी साहित्यको क्षेत्रका सकारात्मक तथा नकारात्मक दुवै पक्षहरुलाई राम्रोसँग पहिचान गर्नुपर्ने आवश्यकता छ । यसको बलशाली पक्ष भनको अहिले पनि प्रगतिवादी लेखन नै नेपाली साहित्यिक लेखनको प्रमुख धारको रुपमा स्थापित हुन सफल हुनु हो । तर यसभित्र विकृति र समस्याहरु पनि त्यत्तिकै छन् । लेखनसँगै वैचारिक स्पष्टताको अभाव, शब्द र कर्मबीचको खाडल, आशीर्वाद प्रगतिवादलाई दिने तर मलजल प्रतिधु्रवीय यथास्थितिवादी प्रवृत्तिलाई गर्ने जस्ता चिन्तन एवं व्यवहारहरु विद्यमान छन् । यसको लागि सचेत आत्मसंघर्ष र अन्तर्संघर्ष प्रगतिवादी क्याम्पभित्रै चलाएर जानुपर्छ । लेखनलाई क्यारियरको माध्यम होइन साँस्कृतिक संघर्षको प्रतिरोधी हतियारको रुपमा स्थापित गरेर लैजानुपर्छ ।
विभिन्न समयमा विभिन्न संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुमा संस्थागत भन्दा पनि व्यक्ति रोजेर निम्त्याइने परिपाटीलाई कस्तो ठान्नुहुन्छ ?
हरेक संस्थाहरुका आ–आफ्नै दृष्टिकोणहरु हुन्छन् । त्यही आधारमा उनीहरुले विषयवस्तु तथा व्यक्तिहरु चयन गर्ने कुरा हो । साहित्यको पनि राजनीति छ । साहित्यलाई उपभोगको एउटा अंश ठान्ने प्रवृत्ति पनि छ । त्यसैगरि साहित्यलाई सामाजिक रुपान्तरणको माध्यम मानेर सोही अनुरुप साहित्यको सृजना गर्ने मान्यता पनि छ । समाजमा उपभोक्तावाद बढेसँगै सामुहिकता भन्दा पनि व्यक्तिले महत्व पाउनु स्वाभाविक हो । सामुहिकता, विचार र सामाजिक प्रयोजन भन्दा पनि व्यक्तिगत चयन र रुचिलाई महत्व दिनु यसको विशेषता हो । यसैको प्रभाव आयोजक संस्थाहरुमा परेको हुनसक्छ ।
विचारलाई भन्दा व्यक्तिलाई महत्व दिने बजारको स्वभावलाई रुपान्तरण गर्न के कस्ता योजना बनाउनुपर्ला ?

हामीले बजारलाई त निशेध गर्न सक्दैनौं । तर बजारवादको विरोध गर्नैपर्छ । बजारवादले हर कुरालाई नाफासँग जोडेर हेर्छ । सामाजिक भन्दा व्यक्तिगत रुचिलाई प्रधानता दिन्छ । त्यतिमात्र होइन नयाँ–नयाँ रुचिहरुको आविष्कार गरेर ती रुचिहरुको दाश बनाउँछ मानिसहरुलाई । बजारको दाश बनिसकेपछि मानिसले आफ्नो सामाजिक चरित्र गुमाउन थाल्छ । जबकि बजार मानिसका लागि हो, मानिस बजारका लागि होइन । त्यसको विकल्पको रुपमा लेखक आफ्नो विवेकप्रति इमान्दार हुनुपर्छ । समाजलाई सही मार्गनिर्देशन गर्ने साहित्य लेख्नुपर्छ । “के र कसरी लेख्ने ?” यस प्रश्नको उत्तर खोज्नुभन्दा पहिले नै “मैले साहित्य किन लेख्ने ?” यो प्रश्नको जवाफ हरेक लेखकसँग हुन जरुरी छ । साहित्य कुनै पेशा या व्यवशाय नभएर सामाजिक दायित्वहरुमध्यको एउटा महत्वपूर्ण दायित्व हो भन्ने ठान्दछु म । लेखक नै बरालियो भने उसले समाजलाई के दिन सक्ला ? त्यसैले यसको विकल्पमा लेखकले लेख्दै गर्दा आफ्नो लेखनको राजनीति एवं विचार दृष्टिकोणलाई सबैभन्दा शीर्षस्थानमा राख्नुपर्ने हुन्छ । जुन सामाजिक हीत र रुपान्तरण अनुकूल होस् ।

साहित्यबाट राजनीतिलाई अलग गर्नुपर्छ भन्ने वुद्धिजीवीहरुलाई के सुझाव दिनुहुन्छ ?
साहित्यबाट राजनीतिलाई अलग राख्नुपर्छ भन्नु र आँखाबाट दृष्टि अलग गर्नुपर्छ भन्नु एउटै हो । मानिस आफैमा राजनीतिक प्राणी हो, ऊ समाजमा बस्छ जहाँ चुलो चौको देखि लिएर उद्योगधन्दा सम्म सबैतिर राजनीति हुन्छ । सच्चा लेखकले समाजविरोधी राजनीतिको विपक्षमा उभिएर समाजमुखी राजनीति आफ्नो लेखन कर्ममार्फत गर्दछ । यो कुरालाई ढाकछोप गर्नु भनेको राजनीतिको सार्वभौम चरित्रलाई नबुझ्नु या अर्को राजनीति गर्नु हो । जुन समाजमा मानिसको विरुद्धमा गर्भदेखि नै राजनीति लादिन्छ त्यो समाजमा राजनीति निरपेक्ष साहित्य लेख्नुपर्छ भन्ने आग्रह पूर्र्ण रुपमा भ्रमपूर्ण छ ।
प्रसंग मोडौ, तपाईंंलाई मन पर्ने स्वदेशी तथा विदेशी साहित्यकारहरु को–को हुन् ?

मैले पढेका भन्दा नपढेका तर पढ्नुपर्ने साहित्यकारहरु धेरै छन् । तर पढेका मध्य स्वदेशी लेखकहरुमा गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, भूपि सेरचन, पारिजात, लील बहादुर क्षेत्री, कृष्णसेन इच्छुक, आहुति, विमल निभा, अमर गिरी, सरिता तिवारी लगायत अरु पनि छन् । साथै विदेशी लेखकहरुमा म्याक्सिम गोर्की, पाब्लो नेरुदा, अवतारसिंह पास, नागार्जुन, मुक्तिवोध, कात्यायनी तथा शशिप्रकाश हुन् ।
वर्तमान समयमा पठन सँस्कृतिमा ह्रास आएकै हो त ?

पठन संस्कृतिमा ह्रास आएकोभन्दा पनि पढन लेख्न सक्ने शिक्षितहरुको संख्या बढेसँगै सोही अनुपातमा पठन सँस्कृतिमा बढोत्तरी हुन नसकेको हो । साहित्य अध्ययनमा रुचि राख्ने सक्रिय पाठकहरुको जमात पनि हामीकहाँ छ । जसलाई समाजमा संस्कृतिकै रुपमा विकास गर्नको लगि साहित्यिक संघसंस्था, प्रकाशन गृहदेखि लिएर राज्यले नै योजनाहरु बनाएर अभियानहरु सञ्चालन गर्नुपर्ने हुन्छ ।
युवा पुस्तामा साहित्यप्रतिको रुचि घट्दै गएको जस्तो पाइन्छ नी ?

युवा पुस्तामा साहित्यप्रति रुचि छ, तर यो संख्यात्मक रुपमा कमजोर हुनसक्ला । जब विद्यालयदेखि कलेजसम्मको अध्ययन सर्टिफिकेट र जागिरको लागि मात्र हो भन्ने मान्यताले घर गरिरहन्छ त्यतिखेरसम्म पठन संस्कृकिो विकास हुनसक्दैन । त्यसको लागि शैक्षिक संस्थाहरुमा प्राज्ञिक वातावरणको निर्माण हुनुप¥यो । जीवनलाई सुन्दर बनाउनको लागि सही ज्ञानको आवश्यकता पर्छ, त्यसको लागि असल साहित्यको अध्ययन जरुरी छ भन्ने सोंचको विकास गर्नुपर्ने हुन्छ । यसको जिम्मेवारी अग्रजहरुले पनि लिनुपर्ने हुन्छ । पछाडिको पुस्ताले अग्रजहरुलाई फलो गर्ने हो ।
तपाईं अनुवादक पनि हुनुुहुन्छ । विदेशी रचना नेपालीमा अनुवाद हुँदै आएका छन् । तर नेपाली रचना विदेशी भाषामा अनुवाद हुन कति समय पर्खनुपर्ला ?
अन्य भाषाको साहित्यलाई आफूसम्म ल्याइपु¥याउन र आफ्नो भाषाको साहित्यलाई अन्य भाषाका पाठकहरुसम्म पु¥याउने एउटा महत्वपूर्ण विकल्प भनेको अनुवाद नै हो । विदेशी भाषाका केहि कृतिहरु नेपालीमा अनुवाद भएका छन् । तर जति भएका छन् ती गुणात्मक र संख्यात्मक दुबै हिसाबले एकदमै न्यून छन् । न्यून मात्रामा भए पनि नेपाली साहित्यको अनुवाद विदेशी भाषाहरुमा भएको छ । तर समग्र नेपाली साहित्यिक लेखनको अनुहार देखिने गरी अनुवादको काम हुन भने बाँकि नै छ । जुन विस्तारै हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
दाङको सुदूरपश्चिमी भेगमा बस्नुभएको छ । जहाँ रहेर साहित्य लेखनमा क्रियाशील भैरहन कत्तिको कठिनाई छ ?
सूचना सञ्चारको हिसाबले हामी पहिलेको जस्तो असहज अवस्थामा छैनौं । प्रकाशनको हिसाबले माध्यमहरुको स्पेश पनि काफी थपिएको छ । आवश्यकता छ साधना र जिम्मेवारीपूर्ण लेखनको । तर लेख्ने पढ्नेहरुको सर्कलको बीचमा रहनु र त्यो अवसर नपाउँनुमा भिन्नता अवश्य हुन्छ । त्यसको अभाव मैले अनुभुति रहेको छु । लेखन वैयक्तिक हुने भएता पनि केहि कुराहरुमा सामुहिक योगदानले पनि महत्वपूर्ण भूमिका खेल्छ । लेखकहरुको सर्कलको बीचमा रहँदा लेख्ने जुन उत्प्रेरणा र फीडब्याक प्राप्त हुन्छ त्यसबाट बञ्चित भएको महशुश हुन्छ । बाँकि त आफैै गर्ने हो ।
अन्तमा छुटेका थप केही ?
नेपाली साहित्य लेखनका कुरा गर्दा यसका बहुआयामिक पक्षहरुबारे बहस हुन अँँझै बाँकि नै छ । यसको व्याकरणको बारेमा मात्र कुरा गरेर हुँदैन । समाजशास्त्रको बारेमा पनि त्यत्तिकै बहस हुन जरुरी छ । अर्को कुरा जनपक्षीय र जीवनशील साहित्यलाई व्यापक रुपमा पाठकहरुको बीचमा कसरी पु¥याउन सकिन्छ ? यसबारेमा पनि साहित्यकर्मीहरुले ध्यान दिन जरुरी छ । जनपक्षीय र प्रगतिशील सौन्दर्यशासत्रलाई लेखनससँग कसरी जोड्ने ? यस विषयमा हामीकहाँ प्रयाप्त बहस र अभ्यास हुन बाँकि नै छ । हाम्रो लेखनका जिउँदा जाग्दा सवाल र त्यसभित्र प्रवेश पाउनुपर्ने वास्तविक नायक नायिकाहरु को हुन् ? यस विषयमा हिजोभन्दा अँझ बेसी चिन्तन र मेहनत गर्नुपर्ने आवश्यक्ता छ ।

 

साहित्यकार प्रमोद धितालकाे  आग्रहमा प्रकाशित

प्रतिक्रिया दिनुहोस