सिक्किममा ढल्यो चाम्लिङको २५ वर्ष लामो सत्ता

जेठ १३, २०७६  

काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच गोलेले आज बिहान १० बजे राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनको मन्त्रिपरिषदका केही सदस्यले पनि आजै शपथ ग्रहण गरेका छन् ।

Advertisement

आजबाट पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासनको पनि अन्त्य भएको छ । आजको सपथ कार्यक्रममा पनि चाम्लिङ उपस्थित भएनन् ।

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा चुनाव नलडे पनि उनी मुख्यमन्त्री बनेका हुन् । भारतमा विधानसभा सदस्य नभएको व्यक्ति पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहेअनुसार उनी मुख्यमन्त्री बनेका हुन् । अब उनले ६ महिनाभित्र विधानसभा सदस्य हुनुपर्ने छ । यो अवस्थामा उनीमाथि कुनै एक सांसदलाई राजीनामा दिन लगाएर आफू निर्वाचित हुनुपर्न अवस्था आएको छ ।

Advertisement

३२ विधानसभा रहेको सिक्किममा गोलेका पार्टीले १७ सिट जितेको थियो । चाम्लिङ नेतृत्वको फ्रन्टले भन १५ सिटमा चित्त बुझाउनु परेको छ । फ्रन्टले यसअघिको निर्वाचनमा २२ सिट जितेको थियो ।

पवन चाम्लिङलाई निरन्तरको सत्ताबाट झार्ने व्यक्ति गोले सुरुमा फ्रन्टमै आबद्ध थिए । उनीमाथि चाम्लिङको पार्टीमा रहँदा भ्रष्टाचार गरेको आरोपसमेत लागेको थियो । सो क्रममा सन् २०१६ मा उनी एक वर्षसम्म जेलसमेत परेका थिए । चाम्लिङबाट अलग भएर उनले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका थिए । चाम्लिङ र उनको दलका नेता कार्यकर्ताले आजको सपथ कार्यक्रम बहिष्कार गर्नुको कारण पनि उनीमाथिको भ्रष्टाचार अभियोग नै रहेको छ ।

भ्रष्टाचारी ठहर गरेका व्यक्ति मुख्यमन्त्री बनेकाले पूर्व मूख्यमन्त्री चाम्लिङले उनको सपथ ग्रहण समारोहमा उपस्थित नहुने जानकारीसमेत दिएका थिए । ‘भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका गोलेले कुनै पनि चुनाव लड्न पाउँदैनन, उनी कसरी मुख्यमन्त्री बन्छन् ?, निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गरेसँगै चाम्लिङले भनेका थिए ।

चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेका थिए । त्यससँगै गोले शिक्षण पेसा छोडेर राजनीतिमा आएका थिए । सन् १९९४ मा भएको निर्वाचनबाट पहिलो पटक सांसद चुनिएका उनी चाम्लिङ् नेतृत्वमा बनेको सरकारमा तीन पटकसम्म मन्त्री बनेका थिए । सन् १९९४ देखि सन् २००९ सम्म उनीे पशुपालन, उद्योग र भवन तथा आवास मन्त्रीको रूपमा रहेका थिए ।

सन् २०१३ मा उनले सिक्किम क्रान्तिकारी परिषद् गठन गरे । त्यसपछि २०१६ मा गोलेलाई सरकारमा रहँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइयो । यसमा उनी झण्डै एक वर्ष जेल बसेका व्यक्ति हुन् ।

भ्रष्टाचारी ठहर उनै गोलेले यो पटकको निर्वाचनमा भ्रष्टाचार अन्त्यलाई नै आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका थिए । यसका अतिरिक्त उनले विकासका कामलाई अगाडि बढाउने र युवालाई रोजगारी दिने विषयलाई पनि चुनावी एजेन्डा बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस