जलवायु परिवर्तन बन्याे विश्वकालागि खतराको घन्टी !

बैशाख २८, २०७६  

केशरमणि कटुवाल

Advertisement

जलवायु परिवर्तन विश्वका लागि एउटा खतराको घन्टी बनेको छ । विश्वमा बढ्दै गएको तापमान नियन्त्रण गर्ने र जलवायु परिवर्तनबाट परेको असरलाई न्यूनीकरण गर्नका लागि सन् २०१५ मा पेरिस सम्झौता भएको थियो । जसअनुसार २१औं शताब्दीमा विश्वव्यापी तापमान वृद्धिदर दुई डिग्रीमा सीमित गर्ने लक्ष्य लिइएको थियो । जुन सम्झौतामा अत्यधिक कार्बन उत्सर्जन गर्ने अमेरिका, चीन, जापानजस्ता औद्योगिक राष्ट्रले कम कार्बन उत्सर्जन गर्ने नेपाल, भुटानजस्ता देशहरूलाई क्षतिपूर्तिसहितको व्यवस्था भएको पेरिस सम्झौताबाट अमेरिका बाहिरिएको छ । जसले जलवायु परिवर्तनविरुद्धको संघर्षमा धक्का लागेको छ ।

विश्वव्यापी रूपमा जलवायु परिवर्तन र यसको असर र यसबाट उत्पन्न हुन सक्ने भयावह अवस्थाबारे हामीले वर्षांैदेखि सुन्दै आएका छौं । वैज्ञानिकहरूले नियमित रूपमा बढ्दो तापमान, समुद्रको बढ्दो स्तर र हिउँ पग्लिएर समुद्रको सतह बढ्दा समुद्री किनारामा रहेका संसारका धेरै क्षेत्र जोखिममा रहेको र यसमा सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । यस्ता घटनाबाट कस्तो प्रभाव पर्छ भन्ने कुराको कल्पना गर्न पनि कहिलेकाहीँकठिन पर्छ ।
तर, जलवायु परिवर्तनको असरका कारण संसारका केही देशका ठूला सहर, महासागरको बीचमा रहेका टापु राष्ट्रहरू विस्तारै डुब्ने क्रममा छन् । यो जलवायु परिवर्तनबाट परेको ठोस प्रभावको एउटा सानो उदाहरण हो । आज डुब्दै गरेका सहर र देशबाहेक जलवायु परिवर्तनको यो असरलाई हामीले नजरअन्दाज गर्दै आएका छौं । बढ्दो समुद्रको स्तर र अन्य पर्यावरणीय कारणले संसारका केही प्रमुख सहरहरू विस्तारै समुद्रमा डुब्दैगइरहेका छन् ।

अर्को खतरनाक कुरा त के हो भने यस्तो अवस्थामा कुनै यस्तो महादेश पनि प्रतिरक्षात्मक छैन । डा. क्याथरिन क्रेमर शोधपत्र ‘सिंकिग सिटिज’मा ठूलो मात्रामा भएको विकासले प्राकृतिक साधनलाई कमजोर पारिदिएको र यसले संसारमा खतराको घन्टी बजाएको बताउँछन् ।द गार्जियनले भनेको छ, ‘वैश्विक मेट्रोपोलिज बलियो र स्थिर लाग्छ तर यो एक मृगतृष्णा मात्रै हो । अमेरिकादेखि अफ्रिकासम्म, एसियादेखि युरोपका समेत केही सहरहरू समुद्रको बढ्दो सतहका कारण खतरामा छन् ।’

जोखिमका रहेका केही सहरहरू

संसारमा जलवायु परिवर्तनका कारण धेरै टापु तथा सहरहरू डुब्ने खतरामा छन् । पछिल्ला केही दशकलाई हेर्ने हो भने जलवायु परिवर्तन र यसको असर तीव्र रूपमा परेको देखिन्छ । संसारमा समुद्रमा रहेका धेरै टापु अस्तित्व समाप्त हुने खतरामा छन् भने कतिपय सहर जोखिममा छन् ।
जकार्ता– इन्डोनेसियाको राजधानी जकार्ता विश्वमा नै सर्वाधिक तीव्र गतिमा समुद्रमा डुब्दै गरेको सहर हो । करिब १ करोड जनताको बसोबास रहेको यो विशाल सहरको ४० प्रतिशत भूभाग अहिले पनि समुद्री सतहभन्दा तल गइसकेको छ र प्रतिवर्ष १० इन्चका दरले यो सहर भासिइरहेको छ । यसको कारण यो सहरको आधारभूत संरचना पनि हो । किनकि जकार्तामा पानीको भरपर्दो नेटवर्क छैन र भूमिगत पानी निकाल्नका लागि जनताले विभिन्न उपाय अपनाएका छन् । यस्तै, बाहिरी जमिनमा गगनचुम्बी महलको निर्माणले यो सहरमाथि तल र माथि दुवैतर्फ दोहोरो हमला भइरहेको छ । वर्षाको समयमा यो क्षेत्र डुबानमा पर्छ र गगनचुम्बी महलहरू समुद्रमा उभिएका जस्ता देखिन्छन् ।

लन्डन– बेलायतको लन्डन गगनचुम्बी महल र सहरी संरचनाका कारण यस्तो जोखिममा परेको होइन । यो वास्तममा हिमयुगको परिणाम हो । जसलाई ‘ग्लेसियल आइसोस्टाटिक एडजस्टमेन्ट’ भनिन्छ । क्रेमरका अनुसार लन्डनको जोखिम ११ हजार वर्षअघि स्कटल्यान्डलाई थिचेको ग्लेसियरको वजन हो । यसले बेलायतको दक्षिणी क्षेत्रलाई अग्लो बनाएको छ भने उत्तरी क्षेत्र भासिएको छ । बेलायतको ग्लेसियर पग्लिएको छ र स्कटल्यान्डको क्षेत्र प्रतिवर्ष शून्य दशमलव शून्य ४ प्रतिशतले बढिरहँदा दक्षिणी क्षेत्र समुद्रमा डुब्न थालेको छ ।

ढाका– बंगलादेशको राजधानी ढाका प्रतिवर्ष डेढ इन्चका दरले डुबिरहेको छ । तर, यो इन्डोनेसियाको राजधानी जकार्ताजस्तो गम्भीर अवस्थामा पु¥याउन सक्दैन । बंगालको खाडीमा समुद्रको स्तर वैश्विक औसतभन्दा १० गुणा छिटो बढिरहेको छ । सहरका तटीय इलाकाका लाखौं जनताहरू पलायन भएका छन् र ढाकाको भित्री भिडभाडयुक्त क्षेत्रमा सरेका छन् । जकार्ताको जस्तै जमिनमुनिको पानीको सट्टामा अन्य उपाय अपनाइदै छ । तर, यो पर्याप्त हुन्छ या हुँदैन भनेर अहिल्यै भन्न सकिन्न । यस्तै गरी थाइल्यान्डको राजधानी बैंकक, न्यु ओर्लिन्स, मनिला, हो चि मिन्ह सहर, ओसाका, सांघाई, अलेक्जान्द्रियाजस्ता क्षेत्र पनि यो जोखिममा छन् ।

राजधानी सार्ने निर्णय

इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्य स्थानमा सार्ने तयारी गरिरहेको छ । अनुसन्धानकर्ताहरूका अनुसार सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्नेछ । त्यसैले, पनि जकार्ताबाट राजधानी सार्नुको अर्को विकल्प छैन । राजधानी कहाँ सार्ने भन्नेबारे एकिन नभए पनि बोर्निओ टापुमा पर्ने पलांगकराया नयाँ राजधानी हुनसक्ने अनुमान छ । जकार्तामा १ करोड मानिसको बसोबास रहेको छ । जसलाई छोएर बग्ने १३ वटा विभिन्न नदीहरूका कारण जकार्ता सहर कमजोर जमिनको तटमा अवस्थित छ । इन्डोनेसिया सन् १९४५ मा स्वतन्त्र भएदेखि नै राजधानी सार्ने मुद्दा पटकपटक उठ्दै आएको छ ।

तीव्र रूपमा भासिँदै गरेको महानगर

जकार्ता विश्वमै तीव्र रूपमा भासिँदै गरेको महानगर हो । अनुसन्धानकर्ताका अनुसार सन् २०५० सम्ममा जकार्ता पूर्ण रूपमा समुद्रमुनि पर्न सक्छ । अब के जकार्तालाई जोगाउन ढिलो भइसक्यो
त ? भन्ने प्रश्न पनि सँगै उठाउन थालिएको छ । दलदल माटो रहेको यो सहर जाभा समुद्रसँगै जोडिएको छ र अत्यधिक बाढी आउने १३ वटा नदी यहीँ छन् । विगत २० वर्षदेखि बानदुङ इन्स्टिच्युट अफ टेक्नोलोजीमा जकार्ता भासिँदै गएको विषय अध्ययन गरिरहेका एरी एन्ड्रियास भन्छन्, ‘जकार्ता पानीमा डुब्न सक्ने सम्भावना छ भन्ने हाँसोको कुरा होइन । हाम्रो अनुसन्धान विश्लेषणलाई हेर्ने हो भने सन् २०५० सम्म उत्तर जकार्ताको करिब ९५ प्रतिशत जमिन भासिँदै छ ।’
उत्तरी जकार्ता १० वर्षमा साढे २ मिटर भासिसकेको छ र प्रतिवर्ष २५ सेन्टिमिटरसम्म भासिरहेको छ । समुद्री तटको नजिक रहेका विश्वका अन्य महानगरको तुलनामा यसको डुब्ने क्रम दोब्बर गतिले बढी हो । समग्र जकार्ताको ४० प्रतिशत समुद्री सतहभन्दा मुनि छ भने हरेक वर्ष एकदेखि १५ सेन्टिमिटरसम्म डुब्दै छ । जसको असर उत्तर जकार्तामा प्रस्टैसँग देखिन थालेको छ ।

म्वारा बारु जिल्लामा एउटा सिंगो कार्यालय भवन छाडिएको छ । जहाँ यसअघि माछासम्बन्धी व्यवसाय गर्ने कम्पनी थियो र आज त्यो भवनको पहिलो तलाको बरन्डा मात्रै काम गर्न सक्ने अवस्थामा छ । पानीमा भवनहरू डुब्न थालेका छन् । व्यवसायी तथा मालिहरूले पानीमा डुब्ने यस्ता भवनहरू मर्मत, पुनर्निर्माण गरी पुनः प्रयोगमा ल्याउँदथे । तर, अब त्यो अवस्था रहेन र समाधानका लागि अल्पकालीन उपायहरू काम लागेनन् । किनकि सहर रहेको जमिन भासिनबाट रोक्ने कुनै उपाय उनीहरूसँग छैन ।
खुला आकाश मुनिको एउटा माछा बजारमा गाडीमा पाँच मिनेट यात्रा गरेपछि पुगिन्छ । माछा बजारमा आइरहने मुआरा बरुका एक स्थानीयबासी रिद्वान भन्छन्, ‘सडकपेटीहरू घुमाउरा र खाल्डाखुल्डी परेका छन् । मानिसहरू लड्नसमेत सक्छन् ।’ जमिनमुनिको पानीको तह घट्दै जाँदा सहरमा रहेका डुबान झेलिरहेको असमान सतहमा हिँड्न बाध्य छन् ।
रिद्वान भन्छन्, ‘बर्सेनि जमिन भासिरहेको मात्र छ ।’ जमिन गत वर्षभन्दा यो वर्ष तल भासिन्छ, पानीको सतह बढेर माथि आउँछ । जुन कुरा देखेर जकार्तावासी अनौठो नै मानिरहेका भने छैनन् । किनभने उनीहरू केही वर्षदेखि नै यस्तो अनुभव गरिरहेका छन् ।

उत्तर जकार्ता इतिहासदेखि नै बन्दरगाहा सहर हो । जहाँ अहिले पनि इन्डोनेसियाको व्यस्तमध्येको एक बन्दरगाह तान्जुङ प्रिअक छ । जाभा समुद्रमा मिसिने सिलिवाङ नदी भएको रणनीतिक महŒवको भएका कारण डचहरूले १७औं शताब्दीमा त्यस भागलाई आफ्नो महŒवपूर्ण आधारका रूपमा राखेका थिए । बन्दरगाह सुस्ताउँदो अवस्थामा छ, तटीय समुदाय गरिब छन्, धनी चिनियाँ–इन्डोनेसियालीसहितको १८ लाख मानिसहरू यो नगरपालिकामा बस्छन् ।
फोर्टुना सोफियाको बसाइ एउटा विलासी भिल्लामा छ । उनी जमिन भासिएको सजिलै देख्न सक्दिनन् । तर, घरका भित्ता र सिमेन्टका खम्बामा हरेक ६ महिनामा चिरा परेको देखिन्छ ।
‘हामीले मर्मत गरिराख्नुपर्छ,’ केही पछाडि निजी बार देखिने आफ्नो स्विमिङ पुल छेउ उभिएर उनले सुनाइन्, ‘ती चिरा जमिन हलचल भएर सिर्जनाभएका थिए ।’

 

सोफिया यहाँ बसेको पाँच वर्ष पुग्यो । यस्तो घटना उनले थुप्रैपटक देखिसकेकी छन्, पटकपटक डुबान भइसकेको छ । उनी भन्छिन्, ‘समुद्रको भेल स्विमिङ पुलसम्म आएर पुरै भरियो । हाम्रा फर्निचर पहिलो तलासम्म सार्नुप¥यो ।’
समुद्र नजिकको अवस्था त्योभन्दा फरक छ । कुनै समय घरमा बसेर समुद्री दृश्य हेर्नेहरू अहिले समुद्री छाल रोक्न बनाइएका बाँधहरू हेर्छन् । समुद्री किनारमा माछा मार्दै आएका मछवार महार्दी भन्छन्, ‘प्रत्येक वर्ष समुद्री ज्वार पाँच सेन्टिमिटरले बढ्छ ।’ तर, यस्ता जोखिमबीच उत्तरी जकार्तामा नयाँनयाँ गगनचुम्बी अपार्टमेन्टहरू बनिरहेका छन् । घरजग्गा व्यवसायीलाई निरुत्साहित गरेको छैन र जोखिमबीच पनि काम गरिरहेका छन् ।
एसोसिएसन अफ हाउजिङ डेभलपमेन्टको सल्लाहकार परिषद्का प्रमुख इड्डी गनिफोले सरकारलाई त्यहाँ थप पूर्वाधार निर्माण रोक्न अनुरोध गरेका थिए । तर, निर्माण रोकिएको छैन । उनी भन्छन्, ‘अपार्टमेन्ट बेच्न सक्दासम्मनिर्माण भइरहन्छ ।’

 

पश्चिम जाकार्तामा जमिन बर्सेनि १५ सेन्टिमिटरका दरले भासिइराखेको छ । सहरको पूर्वी भागमा १० सेन्टिमिटर, केन्द्र भागमा दुई सेन्टिमिटर र दक्षिणी जकार्तामा एक सेन्टिमिटरले जमिन भासिइरहेको छ । यो जलवायु परिवर्तनको असर हो । जलवायु परिवर्तनसँगै बढेको समुद्री सतहका कारण विश्वभरकै तटीय सहरहरू प्रभावित बन्दै छन् । गोलाद्र्धीय बरफी चट्टानहरू बढ्दो चापका कारण पग्लिएका छन् । समुद्री सतह बढिरहेको छ । त्यसबाट तटीय सहरहरू प्रभावित भएका छन् । तर, विज्ञहरू जकार्ता भासिएको दर भने असामान्य रहेको बताउँछन् । यस्तो अवस्थामा जकार्तावासी कस्तो अनुभव गर्छन् ? तपार्इंलाई अचम्म लाग्न सक्छ जकार्ताका बासिन्दाहरू यसमा मात्रै गुनासो गर्दैनन् । उनीहरूका लागि जमिन भासिनु त दैनिक झेल्नुपर्ने थुप्रै पूर्वाधारका चुनौतीहरूमध्येको एउटामात्रै हो ।

नाटकीय गतिबाट जकार्ता भासिनुको कारण जमिन मुनिको पानीको अत्यधिक उपभोग पनि हो । जमिनमुनिको पानी पिउन, नुहाउन र अन्य दैनिक काममा प्रयोग हुँदै आएको छ । पाइपबाट आउने पानी धेरै क्षेत्रमा नियमित नभएकाले मानिसहरूले जमिनमुनि निकै तलबाट पम्प गरेर तानेर पानीको प्रयोग गरिरहेका छन् ।
स्थानीय सरकारले भूमिगत पानी अवैधानिक रूपमा निकाल्ने काम समस्याका रूपमा रहेको स्वीकार गरेको छ । गत वर्ष जकार्ता सहरका अधिकारीहरूले मध्य जकार्ताका गगनचुम्बी भवन, सपिङ मल र होटलहरू रहेको क्षेत्रका ८० वटा भवनको अनुगमन गरेका थिए । जसमा भूमिगत पानी निकाल्ने ५६ भवनमध्ये ३३ वटाले अवैधानिक रूपमा पानी निकाल्ने गरेको पाइएको थियो ।

 

 

जकार्ताका गभर्नर एनिस ब्यासबेडन भन्छन्, ‘हरेकसँग भूमिगत पानी निकाल्ने अनुमतिपत्र हुनुपर्छ, जसका आधारमा उनीहरूले कति पानी निकाले भनेर नाप्न सकियोस् । अनुमतिपत्र नलिइकन पानी निकाल्नेहरूको भवन निर्माण प्रमाणपत्र र त्यही भवनमा रहेका व्यवसायीहरूको पनि प्रमाणपत्र फिर्ता लिइनेछ ।’ जकार्ता वरपर समुद्रको किनारमा ३२ किलोमिटर लामो ग्रेट गरुडा नामका पर्खालहरू उठाइँदै छन् भने १७ वटा कृत्रिम टापुहरू बनाइएको छ । पर्खाल र टापुले उद्धारमा सहयोग पु¥याउने अधिकारीहरूको अनुमान छ । जसको निर्माणमा करिब ४० अर्ब डलर खर्च भएको छ । जसमा नेदरल्यान्ड र दक्षिण कोरियाली सरकारले सहयोग गरेका छन् । यो कृत्रिम प्रयासले पानीको तह तल पु¥याउने र नदीको पानी बाहिर निस्कन सहयोग पु¥याउने विश्वास गरिएको छ । पानी परेका बेला हुने गरेको बाढी नियन्त्रणमा पनि त्यसले सहयोग पु¥याउने विश्वास लिइएको छ ।
यद्यपि, सन् २०१७ मा तीनवटा डच संस्थाहरूले सार्वजनिक गरेको रिपोर्टमा समुद्री पर्खाल या कृत्रिम टापुहरूले जकार्ता भासिने समस्या समाधान गर्नेमा विश्वास नभएको बताएका छन् । डच वाटर रिसर्च इन्स्टिच्युट डेलटेयर्सका पानीविज्ञ ज्यान ज्याप ब्रिन्कमनले भनेका थिए, ‘त्यो त अन्तरिम उपाय मात्रै हो । त्यसले जकार्ताको भासिने क्रम २०÷३० वर्ष पछाडि धकेल्ने मात्रै हो ।’

 

यसको एउटै मात्र समाधान भनेको भूमिगत पानी निकाल्न पूर्ण रूपमा बन्द गर्नु हो । पानीका अरू स्रोतहरू वर्षा, नदीको पानी या मान्छेले बनाएका पोखरीहरूबाट पाइपमा ल्याइएको पानी मात्र प्रयोग गरिनुपर्छ । जमिन भासिन नदिन जकार्ताले सन २०५० सम्ममा यो काम गर्नुपर्छ ।
यो सन्देशलाई गम्भीरतापूर्वक मनन गरिएको छैन र जकार्ताका गभर्नर एनिस ब्यासवेडन कम नाटकीय उपायबाट पनि सम्भव रहेको ठान्छन् । उनी भन्छन्, ‘बायोपोरी भनिने तरिकाले मानिसहरूले वैधानिक रूपमा भूमिगत पानी प्रयोग गर्न पाउने हुनुपर्छ ।’ यो प्रविधिमा एउटा १० सेमी ब्यास भएको र १०० सेमी गहिरो खाल्डो खनिन्छ । त्यसले जमिनभित्र पानीको पुनर्भरण हुन्छ । तर, यो पनि पूर्ण समाधान होइन । आलोचकहरू यो तरिकाले पानीको माथिल्लो तह मात्रै पुनर्भरण हुने बताउँछन् । जबकि जकार्तामा पानी सयौं मिटर तलबाट निकालिएको हुन्छ ।

भूमिगत पानीलाई धेरै तलसम्म पनि पुनर्भरण गर्ने महँगो प्रविधि पनि छ । कृत्रिम पुनर्भरण भनिने यो प्रविधि जापानले ५० वर्षअघि गम्भीर रूपमा जमिन खसेपछि प्रयोग गरेको थियो । भूमिगत पानी निकाल्न रोक लगाउनुका साथै पानी पुनः प्रयोग गर्न थालेपछि जमिन भासिन रोकिएको थियो । जकार्तालाई पनि त्यस्तै वैकल्पिक स्रोत चाहिएको छ । जकार्तावासीहरू भासिँदै गएको सहरको भविष्य भाग्यसँग तुलना गर्छन्, खतरालाई स्वीकार गरेका छन् । पृथ्वीमा भइरहेको जलवायु परिवर्तनप्रति सजग रहने, विकासका कारण निम्तिएका विनाशलाई रोक्ने र जमिनमुनिको पानीको अनियन्त्रित प्रयोग रोक्ने हो भने सम्भावित विनाशलाई पछि धकेल्न सकिन्छ ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस