पातुखोलामा करोडौको योजना, ९ सय मिटर आरसीसी निर्माण गरिदै

बैशाख २७, २०७६

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २७ बैशाख । दाङ तुलसीपुर पातुखोला छेउछाउको बस्ती संरक्षणका लागी पातुखोलामा करोडौ लगानीमा ९ सय मिटर आरसीसी निर्माण गर्न लागीएको छ । समपुरक बजेट अन्र्तगत प्रदेश सरकारको तर्फबाट ६० र नेपाल सरकारबाट ४० गरी जम्मा १० करोड रुपैया बराबरको लगानीमा तुलसीपुर वडा नम्वर ५ र ९ लाई समेट्ने गरी पातुखोलाको दुवै छेउ दायाँबायाँमा ९/९ सय मिटर लामो दुरी सम्म आरसीसी निर्माण गर्न लागीएको हो ।
जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार टेण्डर प्रक्रिया पुरा गरी शुक्रवार देखी काम सुरु भएको छ । बषौदेखी पातुखोलाको छेउछाउमा बस्दै आएको ऐलानी बस्ती बाढिको उच्च जोखीममा रहेको र बस्तीकै कारण पातुखोलाको भाग पनि अतिक्रमण भईरहेको हुदा बस्ती संरक्षण र खोलाको भाग व्यवस्थित गर्नका लागी उक्त आरसीसी निर्माण गर्न लागीएको डिभिजन प्रमुख गणेश मरासीनीले जानकारी दिएका छन् ।
नयाँबसपार्क पातुखोलाको पुल देखी उत्तर र दक्षिण दुवै क्षेत्रमा आरसीसी निर्माण गरिने भएको हो । पुल देखी उत्तर स्वर्गद्धारी टोल देखी दक्षिणमा खोलाको भाग न्यनतम २१ मिटर छोड्नु पर्ने र पुल देखी दक्षिण अटो भिलेजको वरपर ४५ मिटर सम्म खोलाको भाग राख्ने सहमति भएको छ ।

उनका अनुसार पहिलो चरण अन्र्तगत स्वर्गद्धारी टोल विकास संस्था देखी दक्षिण तर्फ दायाँबायाँ आरसीसि निर्माणको काम सुरु गरीएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र शाह र वडा नम्वर ९ का वडा अध्यक्ष घनश्याम ढकालले सयुक्त रुपमा शिलान्यास गरेका हुन् । असार मसान्त सम्म सक्ने गरी कामको सुरुवात गरिएको छ ।

५ भागमा आरसीसी निर्माण हुने
पातुखोलामा निर्माण गर्न लागीएको आरसीसीको काम एउटै निर्माण कम्पनीले गर्दा समस्या हुने भन्दै पाँच भागमा विभाजन गरिएको छ । जसमा तिन वटा निर्माण कम्पनीले कामको जिम्मा पाएका छन् । एउटा निर्माण कम्पनीले तिन भागको जिम्मा पाएको छ भने दुई वटा कम्पनीले एक/एक वटा भाग पाएका छन् । जसमा मध्यपश्चिम निर्माण सेवा तुलसीपुर, सेरम निर्माण सेवा घोराही र स्मृति विशाल कन्ट्रक्सन सेवा रोल्पाले आरसिसि निर्माण गर्ने जिम्मा पाएका छन् । बजेटलाई पाँच भागमा विभाजन गर्दा एउटा भाग दुई बरोड भन्दा माथीको रहेको छ ।
अख्तियारी आएको झन्डै ९ महिना पछि ढिलाई
अख्तियारी आएको झण्डै ९ महिना पछि मात्र योजना प्रक्रिया अघि बढेको डिभिजन प्रमुख मरासीनीको भनाई छ । उनका अनुसार गत साउन महिनामा अख्तियारी आएपनि राष्टिय चुरे संरक्षणका कारण विभिन्न समस्या उत्पन्न भएपछि ढिलाई भएको हो । उक्त विवाद छलफल पछि समाधान भए लगतै योजना कार्यन्वयन प्रक्रिया अघि बढेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस