रोल्पामा गुराँस साहित्य मेला हुने

चैत्र २०, २०७५  

तुलसीपुर,२० चैत ।

Advertisement

साहित्यमार्फत पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले रोल्पामा गुराँसे साहित्य मेला हुने भएको छ । रोल्पा नगरपालिकाको आयोजनामा आउँदो वैशाख १५, १६ र १७ गते जिल्लाको सदरमुकाम लिबाङ र पर्यटकीय क्षेत्र जलजलामा राष्ट्रिय ख्यातीप्राप्त साहित्यकार तथा पत्रकारहरुको सहभागितामा गुराँसे साहित्य मेला हुने भएको हो ।

धार्मिक, सांस्कृतिक र राजनीतिक हिसाबले महत्व बोकेको जिल्लाको पर्यटकीय स्थल जलजलाको प्रचारप्रसारसँगै स्थानीय लोक संस्कृतिको विकास गर्ने उद्देश्यले मेला गर्न लागिएको मेला मूल आयोजक समितिका संयोजक एवम् साहित्यकार डी.बी. टुहुरोले बताएका छन् ।

जलजला क्षेत्रलाई संघीय सरकारले देशभरका एक सय गन्तव्यको सूचीमा राखेकाले त्यसको प्रचारप्रसारमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको भनाइ छ । राष्ट्रिय कविता प्रतियोगिता, जलजला पदयात्रा, गुराँससँग साहित्यलगायत १० वटा सत्रमा सञ्चालन हुने गुराँसे साहित्य मेलाले रोल्पा जिल्लाको कला, संस्कृति र पर्यटन प्रबर्द्धनमा सहयोग र्पुयाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस