पाकिस्तानी सेनाले खसाल्यो भारतीय लडाकु विमान

इल्लामाबाद । पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।  पाकिस्तानी वायु सेनाकोे कश्मिरमा रहेको नियन्त्रणरेखा नजिकै दुई वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गाफूरले ट्विट गर्दै पाकिस्तानी वायुसिमाभित्र प्रवेश गरेका भारतीय विमान खसालेको र एक जना चालकलाई पक्राउ गरेको दाबी गरेका छन् ।

मंगलबार भारतीय वायुसेनाले पाकिस्तानभित्र प्रवेश गरी बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले त्यसको प्रतिक्रिया स्वरुप यो हमला गरेको पाकिस्तानी अनलाइन पत्रिका डनले जनाएको छ ।

मंगलबार भारतले गरेको आक्रमणमा ३ सयभन्दा बढी चरमपन्थी मारिएको दाबी गरेको भएपनि पाकिस्तानले त्यसको खण्डन गरेको थियो । यद्यपि उसले सीमा उल्लंघन भएको र पाकिस्तानको सम्प्रभुतामाथि हस्तक्षेप गरेको भन्दै त्यसको उचित जवाफ दिने बताएको थियो ।

भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो । त्यसको भोलिपल्टै पाकिस्तानले भारतीय वायुसेना खसालेको दाबी गरेको हो । कश्मिरको श्रीनगरनजिकै लडाकु विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले समेत जनाएका छन् ।

यो घटनालगत्तै कश्मिरमा रहेका विमानस्थल बन्द गरिएको छ भने सो क्षेत्रमा लडाकू विमानहरुमात्रै आवतजावत गर्न थालेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा.मोहम्मद फैसलले पाकिस्तानी वायू सेनाले आफ्नो वायु सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया