वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या

फागुन ०९, २०७५  

काठमाडौँ, ९ फागुन  ।

Advertisement

स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा माथिको उपनिर्वाचनका लागि कानूनमा स्पष्ट व्यवस्था भए पनि तल्लो पदका विषयमा कुनै उल्लेख नभएकाले संशोधनका लागि प्रस्ताव पेश गरिएको र कानून बनेर आएपछि मात्रै उपनिर्वाचन हुनेछ ।

सरकार र निर्वाचन आयोगको समन्वयमा मिति तय भएपछि मात्रै उपनिर्वाचन हुने जानकारी दिँदै उहाँले आयोग जुनसुकै बेला उपनिर्वाचन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । हालसम्म प्रदेशसभा र स्थानीय तहमा गरेर कूल ९४२ पद रिक्त छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार प्रदेशसभा सदस्य दुई, स्थानीय तहअन्तर्गत गाउँपालिका अध्यक्ष दुई र नगरप्रमुख दुई, वडाध्यक्ष ३६, वडा सदस्य ४१५, महिला वडा सदस्य २११, दलित महिला वडा सदस्य २३५ र स्थानीय तह कार्यपालिका सदस्य ३९ गरी ९४२ पद रिक्त छ ।


प्रतिक्रिया दिनुहोस