प्रदेश ५ मा कृषि र पर्यटनमा लगानी गरिने: उपसभामुख

फागुन ०३, २०७५  

चन्द्रौटा, ३ फागुन ।
प्रदेश नं ५ सरकारको मुख्य योजना कृषिमा यान्त्रिकीकरण र पर्यटन क्षेत्रको विकासमा रहेको प्रदेश नं ५ का उपसभामुख कृष्णी थारूले बताउनुभएको छ ।

कपिलवस्तुको चन्द्रौटामा सम्पन्न युवा सम्मेलनमा कपिलवस्तु युवा घोषणापत्र बुझ्दै उपसभामुख थारूले प्रदेश नं ५ को मुख्य आयस्रोत कृषि र पर्यटन रहेकाले उत्पादन र बजारीकरणमा सरकारले विशेष ध्यान दिने बताउनुभयो । कपिलवस्तुका युवाले थारूलाई १६ बँुदे कपिलवस्तु घोषणापत्र हस्तान्तरण गरेका छन् ।

कपिलवस्तुको चन्द्रौटामा एक्सन एड नेपालको सहयोगमा विभिन्न नगरपालिका तथा गाउँपालिकाका युवाको गुनासो तथा समस्याका बारेमा गरिएको अध्ययनपछि युवा सम्मेलन गरी कपिलवस्तु घोषणपत्र हस्तान्तरण गरिएको हो । स्थानीय तहहरुमा प्रदान गरिने सेवा तथा रोजगारीका अवसरका बारेमा सूचना केन्द्रको स्थापना गर्नुपर्ने, युवा सहभागिता, युवा सवाल, समस्या तथा आवाज सुनुवाइ हुनुपर्नेजस्ता मागसहित घोषणापत्र जारी गरिएको थियो ।

उपसभामुख थारूले युवाहरुको घोषणापत्रले मार्गनिर्देशन गरेको बताउँदै युवाका समस्या समाधान गर्न स्थानीय तह, प्रदेश र सङ्घ तीनै तहको सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । घोषणापत्रमा रहेका कुरा लागू गर्न पहल गर्न तयार भएको थारूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस