दाङका ३९ वटा वडामा आधारभुत स्वास्थ्य संस्थाको नयाँ भवन बन्ने, पहिलो चरणमा तुलसीपुरको २ र ८ छनोट

लक्ष्मण विश्वकर्मा , तुलसीपुर २२ माघ । यो वर्ष दाङका दश वटा स्थानिय तहका ३९ वटा वडामा आधारभुुत स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण हुने भएको छ ।नेपाल सरकार मार्फत कुनै पनि स्वास्थ्य संस्था नभएका दाङका ३९ वटा वडामा आधारभुत स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको हो । सरकारले देशभरका २ हजार ४ सय ७३ वटा वडामा नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण गर्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका वडाहरुको पहिचान गरी दुई चरणमा सवै ठाउँमा स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने जनाएको छ ।पहिलो चरण अर्थात चालु आर्थिक वर्षमा देश भर एक हजार दुई सय वडामा संस्था निर्माण गरिने भएको छ । जसका लागी चार अर्ब बजेट विनियोजन गरिएको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर विकास देवकोटाले जानकारी दिएका छन् ।
पहिलो चरणमा स्थानीय तहको माग जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा भवन निर्माणका लागि स्थान छनोट गरिएको छ । कतिपय वडामा भने थप स्वास्थ्य संस्था स्थापना गर्न लागीएको छ ।

जस अन्र्तगत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ र ८ मा टाईप २ डिजाईन्को भवन निर्माण हुने भएको छ । यस्तै शान्तीनगर गाउँपालिका वडा नम्वर १, ३, ५ , ७ दंगीशरण गाउँपालिकाको वडा नम्वर १, ४, ५ र ७ बबई गाउँपालिकाको वडा नम्वर १, २, ४ ,५ र ७ घोराही उपमहानगरपालिका वडा नम्वर १ र ६ बंगलाचुली गाउँपालिका वडा नम्वर ४, ६ र ७ लमही नगरपालिका वडा नम्वर १, ६, ७ र ९ राप्ती गाउँपालिका वडा नम्वर २,३,४,६ र ८ राजपुर गाउँपालिका वडा नम्वर १,४,५,६ ,७ र गढवा गाउँपालिका वडा नम्वर २,३,४ ७ मा पनि टाईप २ डिजाईन्को भवन निर्माण हुने भएको हो ।
छनोट भएका सम्बन्धित वडाको जनसंख्या ७ हजार भन्दा कम भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ ।जसलाई टाइप २ मा राखिएको छ । भने ७ हजार वा सो भन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३ सय ६० रुपैयाँ सम्मको प्रसुती सेवा सहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ ।जसलाई मन्त्रालयले टाइप १ अन्र्तगत राखेको छ ।

मन्त्रालयका अनुसार पहिलो वर्ष १ सय ३७ वटा टाइप १ र एक हजार ६३ वटा टाइप २ भवन निर्माण हुनेछ ।भवन निर्माणका लागि सम्बन्धित प्रदेश सरकारमार्फत बजेट पठाइने छ । आधारभूत स्वास्थ्य भवन निर्माणका लागि तीन किस्तामा बजेट उपलब्ध गराइने छ ।पहिलो किस्तामा ४० प्रतिशत, दोस्रो र तेस्रो किस्तामा ३०÷३० प्रतिशत बजेट उपलब्ध हुनेछ ।प्रदेशमा बजेट पठाउने विषयमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाएको छ ।

दोस्रो चरणमा 
यस्तैगरी दोस्रो चरणमा तुलसीपुर वडा नम्वर ९ मा टाईप २ डिजाईन्को भवन निर्माण हुने भएको छ । यस्तै वडा नम्वर, ३,६,७,१२,१४,१६ र १८ वडामा टाईप १ डिजाईनको भवन निर्माण हुनेछन् । यस्तै घोराहीमा वडा नम्वर ३,९,११ र १७, राप्ती वडा नम्वर ९ मा टाईप २ र लमही नगरपालिका वडा नम्वर ५ मा टाईप १ डिजाईनको स्वास्थ्य भवन निर्माण हुने भएको छ ।

फाइल तस्बिर

प्रकाशित मिति : २०७५ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया