गुन्द्रीमा गणित खोज्दै

माघ १२, २०७५  

तुलसीपुर, १२ माघ ।

Advertisement

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता बिद्यापीठ बिजौरीमा गणित विषयका उपप्राध्यापक पर्शुराम चौधरी मार्कर र डस्टर होइन गुन्द्री वोकेर कक्षा कोठामा गए । पढ्नमा सबैभन्दा जटिल मानिने र व्यवहारिक जीवनमा प्रयोग नहुने विषयका रुपमा लिइने गणित विषय उनले व्यवहारिक ढँगले पढाए ।

उनले गुन्द्रीलाई विभिन्न आकार वनाउँदै गणितको व्यवहारिक प्रयोगका वारेमा वताए । “हाम्रो जीवनका हरेक पाटोमा गणित जोडिएको हुन्छ ” चौधरीले थपे “गणित भन्ने वित्तिकै हिसाव किताव मात्रै वुझ्ने गरिएको छ तर विभिन्न अन्य कुराहरु पनि यो सँग जोडिएका हुन्छन् ।” उनले गुन्द्रीलाई कहिले गोलाकार, कहिले आयत त कहिले वेलनाकार वनाएर त्यसको सुत्रका वारेमा जानकारी दिए ।

Advertisement

गणितमा एमए र एमएड गरेका चौधरीले थारु जातिले प्रयोग गर्ने विभिन्न सामग्रीको गणितीय प्रयोगका बारेमा प्रस्तुति राखेका थिए । उनले विशेष रुपमा थारु जातिले प्रयोग गर्ने ढकिया र विडालाई विभिन्न आकारमा ढालेर त्यसबाट क्षेत्रमिति पत्ता लगाउने सुत्र वनाएका थिए । “हामीले झ्याल ढोका लगायत विभिन्न कुराहरुबाट पनि गणितका सुत्र पत्ता लगाउन सक्छौ” उनले भने ।

गणित विभागले गणितको व्यवहारिक उपयोग सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चौधरीले विभिन्न सामग्री प्रयोग गर्दै गणितको व्यवहारिक प्रयोगका वारेमा विभिन्न उदाहरण प्रस्तुत गरेका थिए । चौधरीले थारु समुदायका विभिन्न परम्परागत कला संस्कृतीमा नजानिदो तरिकाले गणितको प्रयोग भैरहेको बिषयलाई प्रकाश पारेका थिए । कार्यपत्रमाथि गणितका बिभागाध्यक्ष डा. ऋद्धिजंग शाहले टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख माधव अधिकारीले विभागीय कार्यक्रमलाई विगत तीन बर्षदेखि निरन्तरता दिएको र यसले क्याम्पसमा अनुसन्धानात्मक अध्ययन अध्यापनको विकास भैरहेको बताए । कार्यक्रममा सहायक प्रशासक बिरेन्द्र चन्दले स्वागत र उपप्राध्यापक सुशिलकुमार आचार्यले सहजिकरण गरेका थिए । कार्यक्रममा प्राध्यापक, कर्मचारी र बिद्यार्थीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस