टरीगाउँमा इन्धन डिपो स्थापनाको तयारी

तुलसीपुर,२२  पुस

तुलसीपुर उपमहानगरपालिकामा रहेको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो स्थापना हुने भएको छ । दैनिक रुपमा उडान भइरहेको विमानस्थलमा डिपो स्थापनाका लागि आवश्यक सामानहरु सहित प्राविधिकहरु आउन लागेको नेपाल आयल निगमका प्रमुख सुशिल भट्टराईले जानकारी दिए । निगमका प्रमुख भट्टराईका अनुसार पुस २४ गतेसम्म इन्धन वोक्ने ट्यांकर र विमानमा तेल हाल्ने वाउजर मेसिन तुलसीपुर एयरपोर्टमा आउने छ ।
तुलसीपुर विमानस्थलमा दैनिक विमान सेवा सञ्चालनमा आएको भएपनि इन्धन डिपो सञ्चालन हुन सकिरहेको थिएन । उपमहानगरपालिकाले लामो समयदेखि इन्धन डिपो स्थापनाका लागि प्रयास गरिरहेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले इन्धन डिपो स्थापनासँगै अहिलेको भाडा घट्नुका साथै दैनिक दुई फ्लाईट विमान सेवा सञ्चालन हुने पनि जानकारी गराए । “अहिलेलाई अस्थायी इन्धन डिपो स्थापना भएपनि यसलाई स्थायी वनाउनका लागि हामीले पहल गर्नेछौ” नगरप्रमुख पाण्डेले वताए । उनले इन्धन डिपो स्थापना गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
लामो समय वन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनसँगै टर्मिनल भवनका लागि समेत टेण्डर भइसकेको विमानस्थलका संयोजक श्याम डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष २२ गते आइतवार
प्रतिक्रिया