आठौ राष्ट्रिय खेलकुदका लागि जिल्ला छनौट सुरु

 

लक्ष्मण बस्नेत

मिशन आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५का लागि दाङ जिल्ला स्तरिय खेलाडी छनोट आज वुधबार देखी सुरु भएको छ ।दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्वद्ध संघहरुको समन्वयमा जिल्लाका विभिन्न स्थानमा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको हो । छनोट प्रतियोगिताको प्रदेश नं ५ का सांसद अमर बहादुर डाँगीले उद्घाटन गर्नु भएको हो । जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमही र वेल्झुण्डी रंगशाला लगाएतका स्थानमा छनोट प्रतियोगिताको स्थान तोकिएको छ ।

जस अनुसार भलिबल, कवडी, खो–खो, कराँते, उसु बेलझुण्डी रंगशाला, ऐथ्लेटिक्स लमही, क्रिकेट, जुडो, भारत्तोलन,व्याट्मिन्टन, घोराही र टेवल टेनिस, फुटबल, बक्सिङ र ह्याण्डबलको छनोट तुलसीपुरमा गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले जानकारी दिनु भएको छ ।

मंसिर २२ गते सम्म संचालन गरिने छनोट प्रतियोगितामा जिल्ला बाट समावेश गरिने १६ खेलहरु मध्य १४ खेलको मात्र जिल्ला छनोट गरिनेछ । जिल्लामा छनोटमा परेका टिम तथा खेलाडीले प्रदेश नं ५ स्तरिय खेलाडी छनोट प्रतियोगितामा भाग लिनेछन । यसैविच जिल्ला छनोट प्रतियोगिताको उद्घाटन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डाँगीको अध्यक्षता तथा प्रदेश नं ५ का सांसद अमर बहादुर डाँगीको प्रमुख आतिथ्य एवं मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका पुर्व अध्यक्ष जोग बहादुर रानाको विशिष्ट आतिथ्यमा भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद डाँगीले देशको समृद्धीको पहिलो आधार सिंगो खेलकुद क्षेत्र भएको बताउनु भएको छ । विश्वको ध्यान खेलकुदमा केन्द्रित भएको बेला राज्यले खेल क्षेत्रमा स्पष्ट लगानी बढाउनु पर्ने प्रमुख डाँगीले बताउनु भयो । साथै उहाँले खेलकुदमा मैत्रिपुर्ण र रचनात्मक प्रतिष्पर्धाको आवश्यक्ता रहको समेत बताउनु भयो । समितिका कोषाध्यक्ष केलाश रोकाँको स्वागत मन्तव्य रहेको कार्यक्रममा विशिष्ट अतिथी जोग बहादुर राना, दाङ जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष हुकुम बहादुर बस्नेत, पुर्व कोषाध्यक्ष सिताराम शर्मा, पुर्व कोषाध्यक्ष भोजराज वली, तुलसीपुर उपमहानगरपालिका मेयर कप खेलकुद प्रतियोगिता संचालन समितिका संयोजक अमर नेपाली माईकल, ह्याण्डबलका केन्द्रिय सदस्य पिताम्बर आचार्य लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन समितिका सदस्य टोपेन्द्र थापाले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया