मेट्रो कलेज खुल्ने भयो तुलसीपुरमा, स्थलगत अध्ययन सकियो

तुलसीपुर, मंसीर १४ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको तुलसीपुर मेट्रो कलेजको स्थलगत अध्ययन गरिएको छ । उपमहानगरपालिकाले कम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको कलेजको स्थलका वारेमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक महेश भट्टराई, योजना महाशाखाका प्रमोदभक्त आचार्य, प्राविधिक महाशाखा प्रमुख अनुज भट्टराई र कोहलपुर शाखा निर्देशक यादव सुवेदी लगायतको समुहले स्थलगत अध्ययन गरेको थियो । अध्ययनका क्रममा कलेज सञ्चालनका लागि उपयुक्त स्थल भएको भन्दै निर्देशक भट्टराईले तत्काल संरचना निर्माणका लागि सहमति पत्र प्रदान गरिने वताए । उनले उपमहानगरपालिकाले सञ्चालन गर्नेका लागि आवश्यक कार्यक्रमको तयारी गर्न समेत आग्रह गरेका थिए । “अन्यले सञ्चालन नगरेका र यहाँका लागि नयाँ लाग्ने खालका कार्यक्रमहरु सञ्चालनका लागि उपमहानगरपालिकाले पहल गर्दा राम्रो हुने देखिन्छ “ निर्देशक भट्टराईले वताए ।
तुलसीपुर उपमहानगरपालिकाले वडा नम्वर २ मा रहेको पशुपति माविको १० विगाहा जग्गा लिएर मेट्रो कलेज सञ्चालन गर्न लागिरहेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले आगामी शैक्षिक सत्रवाट कलेज सञ्चालन गरिने पनि जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया