दक्ष जनशक्ति र उपकरण अभावमा बिरामीलाई कष्ट

नारायणी रजौरे ,तुलसीपुर,१२ मंसीर । 

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो गरिरहेका छन् । सोमबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी ४५ वर्षीया राधा पाण्डेयलाई चिकित्सकले इन्डोस्कोपी गराउनुपर्ने र सो सेवा उक्त अस्पतालमा हुन नसक्ने भएकाले घोराही जान सल्लाह दिनुभयो ।

पाण्डेयले भन्नुभयो, “अस्पताल छ चिकित्सक, उपकरण छैनन्, कति दिनसम्म हामीले नाम मात्रको अस्पतालबाट सेवा लिनुपर्ने हो ।” त्यसैगरी टाउकोमा चोट लागेर अस्पताल आउनुभएका दङ्शीशरण गाउँपालिका–३ का ४८ वर्षीय हरिहर अधिकारीलाई पनि अस्पतालले सिटीस्क्यान उपकरण नभएकाले घोराही जान सल्लाह दिएको उहाँको गुनासो छ ।

त्यसो त राधा, हरिहर त उदाहरण मात्र हुनुहुन्छ । सो अस्पतालमा उपचार गराउन आउने धेरै नागरिकको एउटै गुनासो छ कि उपकरण र चिकित्सक हुनुप¥यो ताकि उपचारका लागि धेरै दुःख र खर्च हुने गरी अन्यत्र जान बाध्य हुन नपरोस् । कूल १६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा अहिले छ चिकित्सकमात्र रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालका प्रशासन अधिकृत नीमबहादुर केसीले भौतिक पूर्वाधार, उपकरण तथा दक्ष जनशक्तिको अभावका कारण सघन उपचार कक्ष र अति सघन उपचार कक्ष सेवा सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा हाल कुल ७४ कर्मचारीको दरबन्दी रहेता पनि ५६ मात्र कार्यरत छन् ।

सर्पदंशका बिरामी उपचार गर्न आउँदा समस्या हुने गरेको पनि अधिकृत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने हुन्छ तर अस्पतालमा भेन्टिलेटर छैन, अन्यत्र सिफारिश गरेर पठायो केहीको ज्यान बाटोमा नै जानसक्ने हुन्छ ।”

त्यस्तै अस्पतालमा बेहोस गराउने चिकित्सक नहुँदा पनि समस्या हुने गरेको केसीले बताउनुभयो । गत वर्ष सघन उपचार कक्ष अति सघन उपचार कक्ष सञ्चालनका लागि केही सामग्री आएकोमा त्यो पनि पूरा छैन । दक्ष जनशक्ति नहुँदा उक्त सामग्री त्यतिकै थन्किएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट ९मेसु० सर्वे शर्माले पर्याप्त जनशक्ति, उपकरण, बजेट अभाव तथा भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आवश्यक पर्ने सिटीस्क्यान, इन्डोस्कोपीलगायतका उपकरण, आवश्यक पर्ने चिकित्सकसहितका अन्य जनशक्ति नै छैनन् तर पनि सेवा व्यवस्थित गर्न गम्भीर भएर लागि रहेको छु ।” शर्माले आफूले मेसुको जिम्मेवारी पाएको तीन महीना भएको बताउँदै अस्पतालको सेवालाई प्रभावकारी बनाउने विषयमा यहाँका सरोकारवाला निकाय, नागरिक अगुवा, बुद्धिजीवी, व्यापारी, समाजसेवी, स्थानीय सरकार तथा प्रदेश सरकारका प्रमुख सबैसँग छलफल तथा समन्वय गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया