दाङ फिल्म नगरी बनाउन सकिन्छ : नायक आकाश

शिव पुन असोज-२८,दाङ ।

युवा स्टार आकाश श्रेष्ठले दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ड्रिम गर्ल’ को टीम संग आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायक आकाशले दाङ जिल्लामा थुप्रै फिल्म सुटिङ गर्न सकिने सुन्दर अनि मनमोहक ठाउँहरु भएकाले अब सबै मिलेर फिल्म मेकर्सहरुलाई दाङ सम्म ल्याएर फिल्म सुटिङ गर्ने वातावरण मिलाउनुपर्ने कुरामा जोड दिएकाछन् ।

संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठले आफू दाङकै भएका अब आफुले काम गर्ने फिल्मका सकेसम्म सबै नभए केही प्रतिशत दृश्य मात्र भएपनी दाङ जिल्लामा छायांकन गर्नको लागि निर्मातालाई आग्रह गर्ने बताए ।त्यस्तै कार्यक्रमका अर्का वत्ता एवं फिल्म ‘ड्रिम गर्ल’ का निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म ‘ड्रिम गर्ल’ उत्कृष्ट फिल्म बनेकाले सबैले हेरेर साथ दिन आग्रह गर्दै पत्रकारहरुलाई पनि फिल्म हेरर उचित प्रतिक्रिया दिन र त्यही अनुसारले समाचार प्रचार प्रसार गरिदिन आग्रह गरेका छन् ।

संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रममा फिल्मका कलाकार एवं रंगपत्रकार शिशिर भण्डारी ,रिपोर्टर्स क्लब दाङ्का अध्यक्ष शरद रेग्मी,रा.स.स.का राप्ती अंचल प्रमुख नारायणी रजौरे लगाएतले बोलेका थिए भने कार्यक्रमको सहजीकरण संघका सचीव सन्तोष के.सी.ले गरेका थिए ।

स्मरण रहोस् नेपाल र थाइल्याण्डमा खिचिएको आकाश श्रेष्ठको फिल्म ‘ड्रिम गर्ल’ मा आश्मा गिरी ,शिशिर भन्डारी,विल्सन विक्रम राई ,सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् । आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन् ।

प्रकाशित मिति : २०७५ असोज २८ गते आइतवार
प्रतिक्रिया