तिव्र सेवा र शिघ्र विकास

तुलसीपुर, असोज २५ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले समृद्धि र उन्नतिका लागि तिव्र र शिघ्र विकासमा ध्यान दिनुपर्ने वताएका छन् । सुस्त गतिमा भएको विकासले जनतालाई समृद्धिको अनुभुति दिन नसक्ने भएकाले विकासलाई गतिवान वनाउनुपर्ने उनको कथन थियो । उनले जनप्रतिनिधि र कर्मचारीहरुले इमान्दार भएर जनताको पक्षमा काम गर्नुपर्ने वताउँदै योजनाको कामलाई पारदर्शी वनाउनुपर्ने कुरामा जोड दिए । “उपभोक्ताहरुले इमान्दार भएर काम नगर्दा विकास प्रभावकारी नभएको गुनासो सुनिन्छ ” पाण्डेले भने “उपभोक्ताले काम गर्ने र उपभोक्ता नै सन्तुष्ट नहुने प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नुपर्दछ ”
तुलसीपुर उपमहानगरपालिकाले काम गर्दा आवश्यक पर्ने कानुन र योजनाका वारेमा जनप्रतिनिधि र वडा सचिवहरुलाई अभिमुखिकरण गर्न आयोजना गरिएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि पाण्डेले अहिले मुलुकमा नयाँ कानुन आएकाले काम गर्दा विशेष सजग हुनुपर्ने कुरामा जोड दिए । “कानुनको ज्ञान राखिएन भने काम गर्दा गल्ति र ढिलासुस्ति हुने गर्दछ जसले गर्दा सेवाग्राहीहरुले समयमै सेवा नपाउन सक्छन् । ” पाण्डेले भने ।
उपभोक्ता समिति गठन गर्दा प्रभावकारी काम हुन सकोस् भनेर ख्याल गर्नुपर्ने वताउँदै नगरप्रमुख पाण्डेले यसवर्षबाट उपमहानगरपालिकाले एकपटक उपभोक्ता समितिको अध्यक्ष वनेको व्यक्ति सोही आर्थिक वर्षमा अर्को समितिको अध्यक्ष वन्न नपाउने प्रावधान राखिएको वताए । उपभोक्ता समिति गठन गर्दा अनिवार्य रुपमा भेला गराउनुपर्ने वताउँदै पाण्डेले योजनाको सम्पूर्ण विवरणका वारेमा सार्वजनिक स्थलमा सूचना टाँस गर्नुपर्ने प्रावधान राखिएको समेत वताए । योजनामा पारदर्शिता ल्याउनका लागि उपमहानगरपालिकाले यस वर्षबाट प्रभावकारी ढँगले अनुगमन गर्ने उनको कथन थियो ।
न्यायिक समिति सदस्य माया शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम समिति सदस्य यमुना परियारले शुभकामना मन्तव्य राखेकी थिइन् भने सहजिकरण सुशिला शाहले गरेकी थिइन् । तीन दिन सम्म सञ्चालन हुने तालिममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, अधिवक्ता पुष्कर भण्डारी, डिल्लीराज धिताल, उपन्यायाधिवक्ता चक्रदेव आचार्य, उपरजिष्ट्रार रुद्रमणी गिरी, शाखा अधिकृत पूर्ण वहादुर केसी, टेकवहादुर केसी,लेखा अधिकृत बासुदेव आचार्य लगायतले विभिन्न विषयमा तालिम दिने तालिम संयोजक यादव डाँगीले वताए ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार
प्रतिक्रिया