दाङका दुई ठाउँबाट हवाई सेवा सुरु हुन्छ :महरा

तुलसीपुर २२ असोज

नेपाल एयरलाइन्सले सोमाबार देखि दाङको टरीगाउँ विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । सफल परिक्षण उडान गरेको एक हप्ता पछि एयरलाइन्सले हवाइ सेवा सुरु गरेको हो । यस अघि १६ असोजमा नाइन. एन. एकेयु विमानले सफल परिक्षण उडान गरेको थियो । प्राविधिक टोलीले १८ सिटे जहाज चलाउन इन्धन बाह्यक कुनै जोखिम पूर्ण समस्या नभएको प्रतिवेदन पेश गरेपछि नेपाल वायुसेवा निगमले जहाज संचालनमा ल्याएको हो । केहि समयका लागि विमानले हप्तामा सोमबार र शुक्रबार दुई दिन उडान भर्नेछ । अस्थाई इन्धन डिपो स्थापना पछि एयरलाइन्सले दैनिक उडान भर्ने छ । अस्थाई डिपोको लागि पनि करिब दुई हप्ता भित्र काम सुरु गरिने तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले बताए ।

विमान आउँदा काठमान्डौ भैरहवा दाङ र जाँदा दाङ–काठमान्डौ सोझै जानेछ । यसैविच सभामुख कृष्णबहादुर महराले दाङको दुई ठाउँबाट हवाई सेवा सुरु गरिने बताउएका छन् । रिपोर्टस क्लब दाङले सभामुख महरा, एयरलाइन्सको विमान मार्फत दाङ आएको अवसर पारी एयरपोर्टमै गरेको पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरमा अन्तराष्ट्रिय विमानस्थल र हाल संचालनमा रहेको तुलसीपुरको टरीगाउँ एयरपोर्टलाई डोमिस्टीक विमानस्थलका रुपमा संचालमा ल्याइने बताए ।

टरीगाउँ एयरपोर्टमा धावनमार्ग सानो भएको र ठूला जहाज बसाउने गरी ठाउँ फराकिलो बनाउने सम्भावना पनि नभएकाले डोमिस्टकका रुपमा संचालनमा ल्याउने सभामुख महराको भनाई थियो । ‘अब यहाँबाट जहाज चल्यो रोक्किने कुरै छैन,’ सभामुख महाराले भने ‘किनकी सबै भन्दा ठूलो समस्या भनेको इन्धन डिपोको हो । त्यसको सल्भ भईसक्यो ।’

विभिन्न कारण देखाउँदै आएको अबरुद्ध र संचालन हुँदै आएको टरीगाउँ विमानस्थलमा एयरलाइन्सले हवाई उडान सुरु गरेपछि यस क्षेत्रका व्यापारीहरु खुशी भएका छन् । सरकारको स्वामित्वमा रहेको जहाजले सेवा दिदा अब यसले निरन्तरता पाउँछकि भन्ने आशामा रहेको तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीेले बताए ।

‘कहिले नदेखेजस्तो गरी जहाज बस्दा ठूलो होहल्ला र बाजागाजाले स्वागत गर्ने त्यसपछि ४/५ दिन बसेर फेरी हराउनुभएन,’ – कमर्सका अध्यक्ष घर्तीले भने, ‘सबै नेताहरु मिलेर नियमित उडान गराउनतर्फ लाग्नुपर्छ ।’
२०११ सालमा स्थापना भएको एरपोर्टमा हवाई नियमित नुहँदा यहाका नागरिकहरु खिन्न भएका छन् । जहाज सेवा नियमित भएमा यस क्षेत्रको व्यापार, व्यवसाय र पर्यटनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । कल्वका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव बिमल गोतमले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमवार
प्रतिक्रिया