निम्न वर्गको अबस्था माथि उठाउनु नै सहकारीता हो : भण्डारी

भदौ २४, २०७५

सहकारीको अवस्था, यसले आर्थिक विकासमा पुर्याएको योगदान लगाएत विविध पक्षमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडका अध्यक्ष शुक्रराज भण्डारीसंग  गरिएको कुराकानी ।

१–हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लि.कसरी स्थापना भयो ?
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लि.२०६४ साउन ३१ गते स्थापना भएको हो । देश भित्र रोजगारी नपाएर अरब तथा मलेसिया जस्ता देशहरुमा दश हण्डर खाएर फर्केका, देश भित्र सानो रोजगारीका लागि पनि आस्था दाउमा लगाउनु पर्ने स्थीतिको सामाना गरिरहेका युवा तथा सामाजिक व्यक्तिहरुको पहलमा यो संस्थाको स्थापना गरिएको हो । हामी आफ्नो जीवन सहज तरीकाले चलाउन आफै सक्दछौं भन्ने मान्यता राखेर “हामी केही गरौं ” भन्ने मूल नाराका साथ यो संस्थाको स्थापना भएको हो ।
२–सहकारीले आर्थिक विकासमा कस्तो भुमिका खेलेको छ ?
सहकारी सस्थाले आफ्ना सदस्यहरुको आर्थिक विकासका काम गर्नु पर्दछ । २०६५ सालमा सम्पन्न संस्थाको दोश्रो साधारण सभाले दश बर्ष भित्र एक सदस्य परिवार एक रोजगारीको व्यवस्था गर्ने रणनीतिक योजना बनाएको थियो । त्यतिवेला धेरैले यो महत्वकांछी योजना भनेर आलोचना गरेका थिए । जतिवेला हामीले यो योजना बनाएका थियौं त्यतिवेला संस्थामा जम्मा ६४ जना सदस्य थियौं, अहिले संस्था स्थापनाका दश बर्ष पुरा भएका छन, संस्थाले ७२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । प्रत्यक्ष रोगगारीको माध्यमबाट महिनामा करिव ११ लाख रुपैया सदस्यको घर घरमा पुग्ने स्थीतिको निर्माण गरेको छ ।

१०० भन्दा धेरै परिवार स्वरोजगार बनेका छन । संस्थाले साडे दुई करोड रुपैया स्वारोजगारीमूलक व्यवसायमा लगानी गरेको छ । संस्थाले सदस्यहरुलाई शेयर पूँजी लगानीका रुपमा र कारोवारीको रुपमा गरी करिव १५ प्रतिशत भन्दा धेरै प्रतिफल वितरण गरिरहेको छ । निम्न वर्गका नागरिक जसले पेट्रोलपम्प, रेडियो, विद्यालय जस्ता ठुला प्रकृतिका व्यवसाय सञ्चालनको कल्पना समेत गर्न सक्दैनन् तर हामीले गरिबले पनि ठुला लगानीका व्यवसाय आफ्नो व्यवस्थापनमा सफलतापूर्वक सञ्चालन गर्न सक्दा रहेछन् भन्ने कुरा सवित गरिदिएका छौं । यो सिंगो सहकारी अभियान र आम निम्न बर्गका नागरिकका लागि गौरभको कुरा हो ।
३–यहाँ सम्म आउँदा संस्थाको आर्थिक अवस्था र संस्थाको संरचना चाहि कस्तो छ ?
समाजको इतिहासको विकासको नियम संभावना र समस्याका विचबाट अगाडी बढे जस्तै हाम्रो संस्था पनि बक्र रेखा मै अगाडी बढिरहेको छ । भविश्यमा आउन सक्ने संभावित चुनौतीलाई हामीले अगाडी नै देख्ने कोसिस गर्दछौं जस्ले गर्दा आएका समस्याको समाधान हामी सहज ढंगबाट गर्न सफल भएका छौं । हाम्रो संस्थामा अधिकांश सदस्यहरु कम पूँजीवाल, किसान वा निम्न बर्गका हुनुहुन्छ । धन धेरै थोरै भएका नागरिकबाट सानो सानो रकम संकलन गरेर ठुलो पूँजीको निर्माण गर्ने र त्यहि पूँजीबाट एक्लैले गर्न नसक्ने प्रकारका व्यवसाय गरी निम्न वर्गको अबस्था माथि उठाउनु नै सहकारीता हो । यहि मूल उद्देश्यका साथ हामी काम गरीरहेका छौं ।

अहिले संस्थामा करिव एक हजार सदस्यहरु हुनुहुन्छ । २५ जना सदस्यको तत्परतामा संस्थाको स्थापना भयो, शुरुमै बचत तथा ऋणको कारोवार शुरु गरियो, ६४ जना सदस्य पुग्दा सदस्य कै तागतमा सहकारी पेट्रोलपम्प स्थापना भयो, अहिले यो व्यवसायले सहकारीताको अलग्गै पहिचान र छवी बनाउन सफल भएको छ, २५० जना सदस्य पुग्दा हामी रेडियो हाम्रो पहुँच सञ्चालनमा ल्यायौं, ३५० सदस्य पुग्दा विद्यालय सञ्चालन शुरु भयो । अहिले सम्म संस्थाले सेवा व्यवसाय मात्र सञ्चालन गरीरहेको छ, आगामी दिनमा उत्पादन व्यवसाय सञ्चालनको गृहकार्य भइरहेको छ । संभव त निकट भविश्यमा बृहत प्रकारको दुग्ध तथा कृषि सम्बन्धि कार्यको शुरुवात हुदैछ । हाम्रो सांगठानिक संरचानाको कुरा गर्दा साधारण सभाले संचालक समिति र लेखा समितिको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्दछ, जस्को माहतका ९ वटा उप समिति र व्यबस्थापक रहेका छन् ।

व्यवस्थापकको मातहतमा परियोजना प्रमुखहरु र परियोजना प्रमुखहरुको मातहतमा सम्बन्धित परियोजनामा कार्यरत कर्मचारीहरु रहेका छन् । उपसमितिहरुले नीति निणर्यको तहमा कार्य गर्दछन् र मासिक रुपमा त्यसको प्रतिवेदन सञ्चालक समितिमा पेश गर्दछन् भने कर्मचारीहरुले नीति तथा निणर्यको कार्यान्वयन गर्दछन् र मासिक रुपमा व्यवस्थापकको माध्यमबाट कार्यप्रगति प्रतिवेदन सञ्चालक समितिमा पेश गर्दछन् । सञ्चालक समितिले मासिक रुपमा सबै प्रतिवेदनहरुको समिक्षा गरी आवश्यक निर्देशन र निणर्य गर्दछ । सञ्चालक समितिले बार्षिक गतिविधि र आगामी कार्यक्रम सम्बन्धि प्रतिवेदन साधारण सभामा पेश गर्दछ र साधारण सभाले सञ्चालक समितिले पेश गरिका प्रतिवेदन उपर छलफल गरी स्वीकृत अस्वीकृतको निणर्य गर्दछ ।

संस्थााको सर्बोच्च अंग साधारण सभा हो साधारण सभाले नै सबै प्रकारका नीति, योजना, कार्यक्रम, कार्यविधिको निणर्य गर्दछ । सोहि अनुसार संस्था संचालन हुन्छ । हामी संग अहिले विभिन्न ९ वटा नीति तथा कार्यविधिहरु छन, जस्मा व्यवस्था भए अनुसार संस्थाका दैनिक कार्यहरु उच्च प्रकारको सुसाशन सहित सञ्चालन भइरहेको छ ।
४–संस्थाले बचत परिचालन र कर्जा लगानीको लागि कस्ता विधि र प्रकृया अपनाउदै आएको छ ?

संस्थााको पहिलो परियोजना वचत तथा ऋण हो । यो २०६४ पुस १ गतेबाट शुरु भएको हो । अहिले सदस्यहरुले करिव १ करोड ५० लाख वचत जम्मा गर्नु भएको छ भने करिव २ करोड ५० लाख ऋण लगानी भएको छ । साधारण सभाले वचत तथा ऋण परिचालन कार्यविधि पारित गरेको छ सोहि अनुसार यसका कार्यक्रमहरु सञ्चालन भईरहका छन । हामीले लघुवित्त कार्यक्रम पनि सञ्चालन गरेका छौं ।

एक बर्ष अगाडीबाट शुरु भएको यो कार्यक्रममा तुलसीपुर उपमहानगरपलिकाका विभिन्न वडाहरुमा हाल सम्म ३० वटा समुहहरु निर्माण भएका छन र समुह निर्माणको क्रम तित्र्र गतिमै छ । ति लघुवित्त समुहका सदस्यहरुलाई हामी समूह जमानीमा २ लाख सम्म कर्जा लगानी गर्दछौ । जुन सदस्य समूहमा हुनुहुन्छ उहाँले समुह मार्फत र अन्य सदस्यले कार्यालयमा आई सर्बप्रथम कर्जा माग गर्नु पर्दछ । कर्जा माग गरेका सदस्यहरुलाई समुह जमानी वा धितो र अन्य कागजात पुरा भए पछि तुरुन्त कर्जा लगानी गर्ने गरेका छौं ।

५–सहकारीहरुले बचतमा दिने ब्याज कम र कर्जामा लिने ब्याज चर्को हुने गरेको गुनासो सुनिदै आएको छ । तपाईको संस्थामा बचत र कर्जामा लिने ब्याजदर कस्तो छ ?
सहकारी ऐन २०७४ ले गरेको व्यवस्था अनुसार सहकारी संस्थाहरुले वचतमा सदस्यलाई दिएको व्याज र सदस्यलाई ऋण लगानी गर्दा लिने व्याजको औसत अन्तर अधिक्तम ६ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । हाम्रो संस्थामा त्यहि कानूनी प्रावधानलाई मध्यनजर गरेर नै व्याजदरको व्यवस्था गरेका छौं । हाम्रो वचतमा औषत व्याज दर ८ प्रतिशत छ भने ऋण लगानीमा औषत व्याज दर १४ प्रतिशत रहने गरेको छ । जहाँ सम्म मलाई लाग्दछ सबै सहकारीले यो नियमको पालना गर्नु भएको छ,जुन सहकारी संस्थाले यो नियमको पालन गरेका छैनन् उनिहरुले सहकारी मूल्य मान्यता र कानूनको पालना नगरेको मानिन्छ ।

६–संस्थाले अझैं सेवामुलक र गुणस्तरिय सेवा दिन के–के गर्दै हुनुहुन्छ ?

मैले माथि नै बताई सकें कि अहिले सम्म हामीले सेवा व्यवसायमात्र सञ्चालन गरिरहेका छौं । निकट भविश्यमा नै उत्पादन व्यवसाय तर्फ व्यवसाय सञ्चालनको तयारी भइरहेको छ । हामीले सञ्चालन गरिरहेका सेवाहरुलाई अरु बढि पारदर्शी, गुणस्तरिय, छिटोछरीतो, सदस्य र समुदायमूखी बनाउने कार्यक्रमहरु बनाई रहेका छौं ।

७– नेपालको संविधान २०७२ मा समेत देशको आर्थिक नीतिको तीन आधार स्तम्भ मध्ये सहकारीलाई समेत उल्लेख गरेको छ । सरकारले सहकारी मन्त्रालयको समेत ब्यवस्था गरेको छ । यसलाई कसरी लिनु भएको छ ?

राज्यले मुलुकको आर्थिक विकासको मुख्य तिन क्षेत्र मध्ये एक क्षेत्र सहकारी हुने भनी नेपालको संविधान मै व्यबस्था गरेको छ सहकारी अभियानका लागि यो खुसीको कुरा हो । अहिले सरकारले आर्थिक विकास र संमृद्धिलाई मुख्य मुद्दा पनि बनाएको छ । सहकारी अभियानको तर्फबाट हामी सहकार्य गर्न तयार छौं तर आर्थिक विकासको स्पस्ट योजना हुनु पर्दछ, देशमा कुन प्रकारको आर्थिक विकास गर्ने ? देशलाई भौतिक रुममा मात्र संबृद्ध बनाउने हो वा नागरिक र देश दुबैलाई संबृद्ध बनाउने हो यो कुरा प्रस्ट छैन ।

यदि संविधानमा व्यबस्था भए अनुसारको समाजवादउन्मूख आर्थिक विकास गर्ने हो भने नागरिकको अबस्थामा परिवर्तन आउनै पर्दछ र नागरिकको अबस्थामा परिवर्तन ल्याउन सक्ने एक मात्र माध्यम सहकारी मात्र हो । सामाजिक न्याय र सामाजिक मूल्यमान्यता सहितको आर्थिक विकासको विकल्प सहकारी बाहेक अन्य भएको विश्व कै अनुभवबाट हामीले देखेका छैनौं ।
८– अन्त्यमा तुलसीपुर खबर मार्फत सहकारी अभियानकर्मीहरुलाई के भन्न चाहानु हुन्छ ?

देश उत्पादनको दृष्टीले वा आर्थिक रुपमा परनिर्भर अवस्थामा छ । यसलाई आत्मनिर्भरतामा रुपान्तर गर्ने जिम्मा हाम्रो पनि हो । हामीले खाली वचत र ऋणको कारोवार मात्र गरेर अबको स्थितिमा पुग्दैन । सहकारीहरुले पूँजीलाई संस्था मार्फत वा सदस्य मार्फत उत्पादन क्षेत्रमा लगानी गर्न आबश्यक छ पहिलो कुरा त सबै सहकारी कर्मीलाई यो आवहान गर्न चाहन्छु ।

दोश्रो सहकारी क्षेत्रको सवलीकरण पनि अत्याबश्यक छ आन्तरिक सुसाशन र सवलीकरणमा ध्यान दियौं । तेश्रो संख्यात्मक रुपमा सहकारी संस्थाहरु प्रयाप्त छौं नयाँ सहकारी संस्थाको स्थापना भन्दा भएका सहकारीहरुलाई सुदृढ बनाऔं, ठुला सहकारीहरुको निर्माण गरौं, जसका लागि सहकारीहरुका विच एकिकरण अभियानलाई अगाडी बढाऔं । अन्तमा मलाई संस्था, सहकारी अभियान र आफ्ना भनाई राख्ने यो अबसर दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस