बैंक र सुन चाँदीका पसलमा प्रहरीको निगरानी

साउन २५, २०७५

तुलसीपुर, २५ साउन /दाङको तुलसीपुरमा सम्भावित चोरीका घटना रोक्न ईलाका प्रहरी कार्यालय तुलसीपुरले विशेष सुरक्षा योजना लागु गरेको छ । महिलाहरुको पर्व हरितालीका तीजको समयमा सुनको कारोबार तथा आर्थिक कारोबार बढी हुने भएकाले सम्भावित चोरीका घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाएर बैंक र सुनचाँदी पसलमा निगरानी बढाएको हो ।
विगतका बर्षमा सुन चाँदी पसल र स्वंयम महिलाहरुको समेत सुन लुटिएपछि प्रहरीले साउन महिना देखिनै बाक्लो मात्रमा प्रहरी परिचालन गरेको छ ।
आर्थिक कारोबार हुने सुनचाँदी पसल र बैंकलाई केन्द्रमा राखेर सादा र प्रहरी पोशाकमा प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।
‘लगभग नेपालीहरुको पर्व सुरु हुने बेला भयो । विगतका बर्षलाई हेर्दा अधिकाँस चोरीका घटना साउन देखि मंसीर महिनामा धेरै भएका छन्,’ प्रनाउ सापकोटाले भन्नुभयो,’ ‘त्यसैले हामीले बेलैमा साबधानी अपनाएका छौं ।’ यस समयमा बैङ र सुनचाँदी पसलमा आर्थिक कारोबार ह्वातै बढ्ने र मानिसको चहलपहल पनि धेरै हुने भएकाले संभावित चोरीका घटना रोक्न सुरक्षा योजना बनाएर अघि बढेको प्रनाउन सापकोटाले बताउनुभयो ।
तुलसीपुर क्षेत्रमा दर्ता भएका ४५ र दर्ता नभएका १० सहित ५५ वटा सुनचाँदी पसल र तीन दर्जन बढि वित्तीय संस्थाहरु छन् । सुनचाँदीको हकमा तुलसीपुर बजारमा दैनिक करिब चार किलो सुनको कारोबार हुने प्रहरीले बताएको छ ।
यता सुन व्यवसायी मिनराज वलीले पछिल्लो समय तुलसीपुर प्रहरीले बजार क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिी बनाएको बताउनुभयो ।
‘केहि समस्या भए भन्नुहोला है साहुजी भन्दै कहिलेकाँही प्रहरी आउँछन,’ व्यवसायी वलीले भन्नुभयो ,‘ प्रहरीले त्यसो भन्दा हामीलाई पनि व्यापार गर्न ‘मन’ ढुक्क हुन्छ ।’
प्रहरी कुनै छुट्टै ठाउँबाट नआएको भन्दै व्यवसायी वलीलले उद्योगी, व्यपारी र नागरिकले पनि सहयोग गरेमा चोरी तथा अपराधका घटनामा कमी आउने बताउनुभयो । केहि समय यता चोरीका घटना सबै भन्दा बढी मोबाइल पसलमा हुने र त्यो पनि विहानको समयमा हुने भएकाले यसतर्फ पनि प्रहरीले सजगता अपनाउनु पर्ने तुलसीपुरका व्यवसायीको सुझाब छ ।
मोबाईल महँगो र हुलाका पनि हुने भएकाले चोरले पछिल्लो समय मोबाइल पसलाई लक्षित गरेको उनिहरुले बताएका छन् ।
यता तुलसीपुर उद्योग बाणिज्य संघले प्रहरीको कार्य प्रति पंशासा व्यक्त गरेको छ । बेलैमा चोरी र अपराधका घटना हुन नदिन प्रहरी सचेत हुनु आम नागरिक र व्यापारीका लागि सुखद पक्ष रहेको भन्दै तुलसीपुर उद्योगबाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेले प्रहरी सफल हुनु नै नागरिक सुरक्षित हुने बताउनुभयो । रातको समयमा पनि बाणिज्य संघले व्यवसायीका पसलको सुरक्षाका लागि चौंकीदार खटाएको भन्दै कार्यबाहक अध्यक्ष चालिसेले व्यवसायी र प्रहरी समन्वयत्मक रुपमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस