बन अतिक्रमणको फैसला कार्यान्वयन भएन

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २३ साउन ।
तुलसीपुर – १३ फुलबारीमा रहेको सिद्धदेव लेरुवा पहाड सामुदायिक बनको जग्गा अतिक्रमण बारे उजुरी पर्यो । सामुदायिक वनको तत्कालिन बन समुहले २०७१ सालमा जिल्ला वन कार्यालयमा बन अतिक्रमण सम्वन्धित मुद्धा दर्ता गराएका थिए । २०४८ साल देखी उक्त बनको करिव १५÷१६ विगाहा क्षेत्रफलमा झन्डै १६ घरधुरीले घरटहरा बनाएर बस्दै आएका छन् ।

तत्कालिन जिल्ला बन अधिकृत नवराज काफ्लेले २०७२ फागुन ११ गते २४ जनालाई जरिवाना सहित घरटहरा हटाउन फैसला गरेका थिए । तर विपक्षीहरुले २०७३ मा उच्च अदालत तुलसीपुरमा पुनराबेदन गरेपनि अदालतले जिल्ला बन कार्यालयले गरेको सोहि फैसलालाई सदर गरेको थियो ।

जसमा पक्राउ परेका मध्य एक जना पुस्कराज बस्नेतलाई सफाई र ४ जना तुलसीपुर १३ ढकना निवासी दशरथ थापा,रेश्मीराज भट्टराई , कमलप्रसाद भठ्टराई लाई जनही एक हजारका दरले र अर्का बुद्धिराम खत्रीलाई दश हजार रुपैया जरिवाना अशुल गरीएको हो । उनीहरुलाई बन ऐन २०४९ दफा ५० अन्र्तगत कारवाहि गरीएको हो ।

तर अन्य २० जनालाई अझै सम्म पनि कारवाहि गर्न सकिएको छैन । दोषि ठहरिएका अरु २० जनालाई जनही १० हजारका दरले जरिवाना तोकीएको छ । जस अनुसार खिमबहादुर डाँगी, गणेश परियार भनिने गणेश बहादुर दमाई, टेक बहादुर वली, नविन विक, धनबहादुर कुसारी, यादव खत्री, एकराज भट्टराई, सन्तोष विक, अमृत खत्री, लिलाधर विक, श्रीरामचौधरी, मोतिराम बस्नेत, मेघ बहादुर विक, दुर्गा बहादुर विक, चन्द्र बहादुर कुसारी र रामलाल विकलाई दोषि ठहर गरी जरिवाना तोकेता पनि उनीहरुबाट अशुल गर्न सकिएको छैन ।

त्यस्तै गरी अतिक्रम गरी बनाईएका घर टहरा पनि अहिले सम्म नहटाईएको बन समुहका एक उपभोक्ताले जानकारी दिएका छन् । फैसला भएको मुद्धा कार्यान्वयन गर्नका लागि भरतपुर सेक्टर बन कार्यालयलाई २०७४ साउनमा पत्राचार गरेको जिल्ला बन अधिकृत जगदिश प्रसाद गुप्ताले बताए । तर सेक्टर बन कार्यालयले भने कार्यन्वयन गर्न चुनौती देखीएको बताएको छ ।

यसलाई कार्यन्वयन गर्नका लागी कर्मचारीले मात्र चाहेर नहुने भन्दै यसमा राज्य, स्थानिय तह र राजनितिक दलले समेत सहयोग गर्नुपर्ने भरतपुर सेक्टर बन कार्यालयका अधिकृत हरि प्रताप श्रेष्ठको भनाई छ । जिल्लामा बन अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ । यसरी बन अतिक्रमण गरी बसोवास गरेकालाई हटाउन चुनौती देखीएको हुदा बन अतिक्रमणको चपेटामा परेको देखिन्छ ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार
प्रतिक्रिया