देशभर ८२ प्रतिशत धान रोपाइँ

 

काठमाडौँ, साउन १२  ।

साउनको पहिलो हप्ता पूरा हुँदासम्म देशभर ८२.२६ प्रतिशत अर्थात् १२ लाख ७७ हजार १ हेक्टरमा धान रोपाइँ भइसकेको छ । असार २७ गतेसम्म ४३.२८ प्रतिशत रोपाइँ भएकोमा त्यसको १७ दिनपछि दोब्बर रोपाइँ पुगेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार धान रोपाइँमा वृद्धि भएको छ । यसपटक मनसुन चाँडै सुरु हुँदा पनि धान रोपाइँमा वृद्धि भएको मन्त्रालयले जनाएको छ । असारको दोस्रो सातादेखि नेपालमा मनसुन सक्रिय भएको थियो । गतवर्ष यसबेलासम्म ६८.२७ प्रतिशत धान मात्र रोपाइँ भएको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ७०.८८ प्रतिशत रोपाइँ भएको छ । जसमध्ये ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बुमा ७७.७६ प्रतिशत, इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा ६८.०० प्रतिशत, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा ७१.२६ प्रतिशत मात्र रोपाइँ भएको छ । यसमध्ये सबभन्दा कम रोपाइँ सप्तरीमा भएको छ । त्यहाँ ३६.०० प्रतिशत रोपाइँ मात्र भएको छ ।
मध्यमाञ्चलमा ८३.०२ प्रतिशत रोपाइँ भएको छ जसमध्ये दोलखा, रसुवा, सिन्धुपाल्चोकमा ७५.३२ प्रतिशत, रामेछाप, सिन्धुली, नुवाकोट, काभ्रेपलञ्चोक, मकवानपुर, भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङमा ८५.१९ प्रतिशत, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट, चितवनमा ८२.८६ प्रतिशत रोपाइँ भएको छ ।
पश्चिमाञ्चलमा ९०.७५ प्रतिशत रोपाइँ भएको छ । जसमध्ये, मुस्ताङ र मनाङमा रोपाइँ नै भएको छैन । पाल्पा, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, तनहुँ, लमजुङ, अर्घाखाँची, गुल्मीमा ८८.५५ प्रतिशत र कपिलवस्तु, रूपन्देही तथा नवलपरासीमा ९२.२४ प्रतिशत रोपाइँ भएको छ । साउन १ गते गोरखाको सिर्दी खोलामा आएको बाढीका कारण ६० हेक्टर खेत बगरमा परिणत भएको कृषि मन्त्रालयले जनाएको छ ।
मध्यपश्चिमाञ्चलमा ७८.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

त्यसमध्ये जुम्ला, कालिकोट, मुगु, डोल्पा हुम्लामा ९६.९८ प्रतिशत रोपाइँ भएको छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठानमा ८२.९९ र बाँके, बर्दिया, दाङमा ७६.७३ प्रतिशत रोपाको सकिएको मन्त्रालयले जनाएको छ ।

जुम्ला र डोल्पामा रोपाइँ सम्पन्न भइसकेको छ । सुदूरपश्चिमाञ्चलको नौवटा जिल्लामा ९७.२७ प्रतिशत रोपाइँ भएको छ, जसमध्ये बझाङ, बाजुरा, दार्चुलामा ९४.६७ प्रतिशत, डडेल्धुरा, डोटी, बैतडी र आछामा ९०.९१ रोपाइँ सम्पन्न भएको छ भने कैलाली र कञ्चनपुरमा रोपाइँ सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०७५ साउन १२ गते शनिवार
प्रतिक्रिया