उन्नत जातको बोकाबाट मासिक दुई लाख

बुद्धि पुन,सल्यान, ३० असार ।
सल्यानको त्रिवेणी गाउँपालिकाको लुहामस्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले उन्नत जातको बोकाबाट मासिक दुई लाख आम्दानी गर्दै आएको छ । सहकारीले जमुनापारि जातको बोका ल्याएको ९ महिना मै १८ लाख रुपैयाँ आम्दानी भएको जनाएको हो । स्थानीय जातका बाख्रामा गर्भधारण गराए बापत मासिक दुई लाख बढी आम्दानी हुँदै आएको सहकारीका सदस्य टीकाराम केसीले बताए ।

उनका अनुसार बोकाबाट गर्भधारण गराएबापत बाख्रापालक किसानबाट रकम लिने गरिएको हो । सहकारी भित्रका सदस्यले पालन गरेको बाख्रालाई गर्भधारण गराएबापत ६ सय र सहकारी बाहिरका किसानबाट ६ सय ५० रकम लिने गरिएको छ । उन्नत जातको बाख्रामा उन्नत जातको बोकाबाट गर्भधारण गराउँदा जन्मने पाठापाठीसमेत उन्नत जातका हुने गरेको किसानको भनाइ छ ।

गर्भधारणका लागि त्रिवेणी गाउँपालिकाको फलाबाङ, सिम्ख, ढुंगेबजार, काभ्रालगायतका गाउँबाट बाख्रा ल्याएर किसान सहकारीमा आउने गरेका छन् । जिल्ला पशु सेवा कार्यालयको सहयोगमा सहकारीले बोका खरिद गरेको हो । बोकाबाट आम्दानी भएको रकमबाट कृषकलाई ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७५ असार ३० गते शनिवार
प्रतिक्रिया