मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई कारबाही गर्न माग

असार २८, २०७५

तुलसीपुर,२८ असार ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य तथा विशेष समयमा बोल्दै सांसदले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

गएरातिदेखि परेको वर्षापछिको बाढी पहिरोका कारण देभभर नै दर्जनौँ बस्ती डुबानमा परेको, नागरिक घरबास नै छाडेर हिँड्नु परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराएका हुन । भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले भक्तपुरमा भएको बाढीले डुबाएको क्षेत्रलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ओली सरकारले अघि सारेको पानी जहाजको योजनासँग तुलना गरेर मानवीय संवेदनामाथि खेलवाड गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रहरी र सरकारले साइबर अपराध अनुसार यसरी पीडालाई ‘ठट्टा’ बनाएर उडाउनेलाई कारबाही गर्न मागसमेत गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले पूर्व सावधानी नअपनाउँदा बढीको समस्या भोग्न परेको बताउनुभयो । गएरातिदेखिको अविरल वर्षाले आज भक्तपुरको राधेराधे क्षेत्र लगायत विभिन्न ठाउँमा बाढी पसेको थियो ।

प्रतिक्रिया दिनुहोस