तुलसीपुर उप महानगरको वजेट पारित

असार २४, २०७५

तुलसीपुर,२४ असार ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वजेट पारित भएको छ । उपमहानगरपालिकाको तेस्रो नगरसभाको तेस्रो वैठकले असार १० गते उपप्रमुख माया आचार्यले प्रस्तुत गरेको वजेटलाई सर्वसम्मतले पारित गरेको हो । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले विनियोजन ऐन, आर्थिक ऐन पारित गरेसँगै वजेट पारित गरेको हो ।

नगर सभाको वैठकमा विधेयक समितिका संयोजक देवराज विश्वकर्माले वन ऐन र शिक्षा ऐन समेत प्रस्तुत गरेका थिए । नगरसभाले आगामी आर्थिक वर्षका लागि यसैगरि आर्थिक चालु खर्च अन्तर्गत तलव, भत्ता, कार्यालय सञ्चालनका लागि कुल वजेटको ९.२ प्रतिशत हुन आउने रकम १४ करोड ४९ लाख, १८ हजार विनियोजन गरिएको छ भने पुँजिगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका ९०.८ प्रतिशतले हुन आउने रकम १ अरब ४२ करोड, ९२ लाख, ७३ हजार २ सय सात रुपैया विनियोजन गरिएको छ ।

पारित वजेटमा मुख्य गरेर चक्रपथ निर्माण, नगर पुस्तकालय स्थापना,पर्यटन पूर्वाधार निर्माण लगायतका कुरालाई प्राथमिकतामा राखिएको छ । कृषकहरुलाई लक्षित गरेर एनिमल एम्बुलेन्स सञ्चालन गर्नका लागि वजेटमा रकम छुट्याईको छ ।

वजेटमा दुध उत्पादन वढाउनका लागि डेरी उद्योग स्थापना गर्न १ करोड रकम विनियोजन गरिएको छ । प्रदेश सरकारको सहयोगमा तुलसीपुरमा आधुनीक मिट मार्ट, वधशाला र तरिकारी तथा फलफलु वजार निर्माणका लागि ८ करोड रकम विनियोजना गरिएको छ ।

ग्रामिण सडकलाई प्राथमिकतामा राखेर यसपटक बाटो नभएको ठाउँमा बाटो, ग्राभेल भएको ठाउँमा कालोपत्रे गर्ने नगर प्रमुख पाण्डेले वताए । नगरसभाका सभासदहरुले वजेटका वारेका विभिन्न कुराहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस