नगरलाई हरियाली वनाउने उपमहानगरपालिकाको अभियान

असार २४, २०७५

तुलसीपुर, असार २३ । तुलसीपुुर उपमहानगरपालिका ६ का झविलाल भुषालले आफ्नो खाली जग्गामा बगैचा वनाउने सोच गरेका छन् । ‘जग्गा लगाइदिने कोही पनि छैन, खाली राखेर के गर्नु ? विरुवा लगायो भने जग्गाले पनि काम पाउँने आम्दानी पनि हुने ।’ भुसालले भने । उनले आफ्नो खाली जग्गामा विरुवा लगाउनका लागि तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाबाट विरुवा लगिसकेका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको सिद्धार्थ टोल विकास संस्थाले सामुहिक रुपमा वगैचा निर्माण गर्ने सोच अनुरुप विरुवाको माग पत्र पेश गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षबाट उपमहानगरलाई हराभरा वनाउनका लागि निशुल्क विरुवा वितरण कार्यक्रम सार्वजनिक गरेपछि अहिले धेरै ठाउँबाट किसानहरुले वगैचा निर्माण गर्न लागेका छन् । कृषि विकास शाखाले बिहिवारबाट आवेदनका आधारमा कृषकहरुलाई विरुवा वितरण गरिरहेको छ । ‘दुई दिनमै हामीले वाँड्न ल्याएका विरुवा सकिए, थप विरुवा ल्याउने क्रममा रहेका छौ ’ कृषि विकास शाखा तुलसीपुरका प्रमुख तिलकराम केसीले वताए । उनले शाखाले पहिलो चरणमा वितरण गर्न भनेर ल्याएका करिव ९ हजार विरुवा दुई दिनमै वितरण भएको पनि जानकारी गराए ।
उपमहानगरपालिकाले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि कृषकहरुलाई निशुल्क विरुवा वितरणको काम सुरु गरेसँगै कृषकहरुमा उत्साह थपिएको हो । ‘विरुवा किन्ने पैसा नभएर पनि होइन तर पनि उपमहानगरले गरेको कामबाट प्रभावित भएका कारणले गर्दा विरुवा लिन आएको हुँ ’ वडा नम्वर ७ का विक्रम शर्माले वताए ।
कृषि विकास शाखाले किसानहरुलाई आम्रपाली, आँप, लिच्ची, कागती, अनार, अम्बा, कटहर, केरा लगायतका फलफुलजन्य विरुवाहरु वितरण गरिरहेको पनि प्रमुख केसीले जानकारी दिए । उनले रौतहट, बाँके, धनकुटा र सल्यानबाट विरुवाहरु ल्याएर वितरण गरिएको पनि वताए ।
‘कुन ठाउँमा राम्रो विरुवा पाइन्छ सोही अनुसार ल्याएका छौ ’ प्रमुख केसीले भने । उनले निशुल्क विरुवा लैजानका लागि कम्तिमा २५ वटा विरुवाको माग हुनुपर्ने वताए । ‘वडाबाट २५ भन्दा वढि विरुवा चाहिएको सिफारिस ल्याएर आउने किसानलाई हामीले तत्काल विरुवा उपलब्ध गराउँछौ’ शाखा प्रमुख केसीले जानकारी गराए । उनले तत्काल विरुवा सकिएको वताउँदै थप विरुवा केही दिनमै आउने पनि जानकारी गराए ।
विरुवाको अनुगमन गर्छाै : नगरप्रमुख पाण्डे
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विरुवा लगेर लगाएको या नलगाएको वारेमा अनुगमन गर्ने वताएका छन् । उनले जुन उद्देश्यका लागि विरुवा लगिएको हो सो अनुसार गरे या नगरेको अनुगमन गरेर आवश्यक कारवाही गर्ने समेत वताए । ‘हामीले नगरलाई हरियाली वनाउनका लागि विरुवा वितरण गरेका हौ, किसानले त्यसलाई जोगाएर राखेको नपाएमा जरिवान गर्ने समेत वताए । उनले विरुवा राम्रोसँग जोगाउनेलाई पुरस्कृत गर्ने समेत वताए । ‘वास्तविक किसानले फाइदा लिन सकुन भन्ने हाम्रो उद्देश्य हो ’ नगर प्रमुख पाण्डेले भने । तुलसीपुरको कुनै पनि भुभाग बाँझो नरहोस् भन्ने सोचका साथमा विरुवा वितरण गर्ने कामको सुरुवात गरेको समेत वताए ।

 

 

प्रतिक्रिया दिनुहोस