आजबाट मनसुन सक्रिय हुने

जेठ ३०, २०७५

तुलसीपुर,३० जेठ ।
नेपालमा यस वर्षको मनसुन आज देखि सक्रिय हुँदैछ । मौसमविदहरुका अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले गएको जेठ २५ गते नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि दिउँसो घाम चर्कने र बदली हुने गरेको छ । क्षणिक बदली हुने र घाम लाग्ने क्रमले गर्दा बढी गर्मी भएको हो । तीन दिनसम्म काठमाडौँको अधिकतम तापक्रम ३१ देखि ३१.५ सेल्सियससम्म पुगेकामा हिजो ३० डिग्री सेल्सियसमा झरेको छ । नेपालगंज, धनगढी लगायत ठाउँमा भने तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने गरेको छ ।

मनसुन प्रवेश गरेको ६ दिन बितिसक्दा समेत मनसुन सक्रिय नहुँदा गर्मी बढेको छ । आज दिउँसोदेखि धेरै ठाउँमा पानी पर्ने भएकाले गर्मी केही कम हुने जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस