शैक्षिक सुधारका लागी वृहत अन्तरक्रिया

सल्यान, ३१ बैशाख ।

विद्यार्थी संख्या र भुगोलको आधारमा तह सहित विद्यालय समायोजन गर्नुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सल्यानको कपुरकोट गाउँपालिकाले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरमा सोमबार आयोजना गरेको गाउँपालिका स्तरिय शैक्षिक सुधार विषयक वृहत अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

गाउँपालिकाभित्रको शिक्षा सम्बन्धी समस्याको पहिचान, समाधान र शैक्षिक सुधारको योजना बनाउनका लागी वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले जानकारि दिए ।

अन्तरक्रिया तथा पारस्परिक जवाफदेहिता परियोजनाको शैक्षिक सवालमा घुम्ती सञ्चार अभियान अन्तर्गत भएको छलफल कार्यक्रममा कतै विद्यार्थी न्युन तर जनशक्ति बढि र कतै जनशक्ति कम विद्यार्थी संख्या बढि देखिएकाले शिक्षक दर्बन्दी मिलान र विद्यालय समायोजन कार्य जनभावना तथा शिक्षा नियमावली, शिक्षा ऐन अनुसार गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।

कार्यक्रममा शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरि, शिक्षाविद् भद्रसिंह बुढा, घनश्याम शर्मा लगाएत गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका अध्यक्ष, प्रअ, शिक्षक संघसंगठनका प्रमुख, शिक्षाप्रेमि, शिक्षक, जनप्रतिनिधी, पत्रकार लगाएतकाले शैक्षिक सुधारका लागी रचनात्मक सल्लाह, सुझाव दिएका थिए । साथै कपुरकोट गाउँपालिकाको वर्तमान शैक्षिक अवस्थाका बारेमा शिक्षा शाखा प्रमुख कृष्ण भण्डारिले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहभागीहरुले विषेस गरेर गाउापालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागी शिक्षा पुरस्कारको व्यवस्था गर्नुपर्ने, अंग्रेजि माध्यमको पढाइमा जोड दिनुपर्ने, गाउँपालिका स्तरिय स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने, योग्य शिक्षक नियुक्त गर्नुपर्ने, समयसमयमा अभिभावक शिक्षा सञ्चालन गर्नुपर्ने तथा गाउँपालिकामा प्राविधिक शिक्षालयको व्यवस्था गर्नुपर्ने जस्ता सुझाव दिएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिए ।

यस्तै शिक्षकहरुलाइ तालिम, पुर्नताजकीय तालिमको व्यवस्था गर्नुपर्ने, सामुदायीक र संस्थागत विद्यालयय विचमा सहकार्य हुनुपर्ने, तथा विद्यालय अनुगमनका लागी गाउँपालिका स्तरिय र वडास्तरिय समिती गठन गर्नुपर्ने सुझाव अन्तरक्रिया कार्यक्रममा दिइएको थियो । पत्रकार महासंघ सल्यानका सचिव शंकर के सीले सहजीकरण गरेको अन्तरक्रियामा उठेका सुझाव र सवाललाइ समेटेर प्रधानाध्यापकहरु रहेको समितीले प्रतिवेदन समेत प्रस्तुत गरेको थियो ।

कार्यक्रममा कपुरकोट गाउँ शिक्षा समितीका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले छलफलबाट अत्यन्तै राम्रा सुझावहरु आएको बताउँदै सुझावहरुलाइ मार्गनिर्देनको रुपमा लिदै कपुरकोट गाउँपालिकाको शैक्षिक अवस्था सुधार गरिने प्रतिवद्धता जनाएका थिए ।

उनले विद्यालय सञ्चालनको नाममा विद्यार्थीको भविष्यमाथी खेलबाड गर्न नहुनेतर्फ सम्बन्धीत विद्यालयका विव्यस अध्यक्ष र प्रअहरुलाइ सचेत बनाएका थिए । उनले समृद्ध समाजका लागी शिक्षा क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउँदै बालमैत्री वातावरण बनाउनका लागी साथ दिन सबैमा अनुरोध पनि गरे ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगरले शिक्षा क्षेत्रको विकास र योजना निर्माणमा समाजका सबै वर्ग र क्षेत्रको सहयोग परामर्श लिएर कार्यविधि र निती तय गरिने बताइन् ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया