आगलागी पिडितलाई राहात

तुलसीपुर,९ बैशाख ।

प्युठानमा आगलागी पिडितलाई राहात वितरण गरीएको छ । आगलागीका कारण ज्यान गुमाएका पिडित परिवारलाई राज्यको तर्फबाट एक लाख दश हजार रुपैया राहात प्रदान गरीएको छ । जिल्लाको सरुमारानी गाउँपालीका ६ ठाँडीओडारमा मृतकका परिवारलाई जिल्ला प्रमुख अधिकारी डा. कृष्णबहादुर घिमिरेले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

त्यस्तैगरी अन्य आगलागी पिडित घरपरिवारलाई प्रतिघर दश हजार रुपैयाका दरले राहात वितरण गरीएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गत विहिवार ठाँडीओडारका पाँच घर र पाँच गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट हुनुको साथै स्थानिय ७५ वर्षीय बृद्ध रेउत बहादुर थापाको घटनास्थलमा ज्यान गएको थियो भने दुई दर्जन वढि पशुचौपाय जलेर मरेका थिए ।

बारीमा जोतिरहेका थापाले घर जलेको देखीपछि समान जोगाउन घरभित्र पसेका थिए । आगलागी कारण एक सुत्केरी महिला सहित ४० बढि मानिस विचलित भएका छन् । आगलागीबाट ७० लाख रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।।

प्रकाशित मिति : २०७५ बैशाख ९ गते आइतवार
प्रतिक्रिया