मोतीपुरमा प्रदेश ५ को औद्योगिक क्षेत्रको डीपीआर तयार

बुटवल, १ चैत ।

रुपन्देहीको मोतीपुरमा प्रस्तावित प्रदेश ५ को प्रादेशिक औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । परामर्शदाता कम्पनी इन्क्लुसिभ वी लिंक जेभीले ६ महिना भन्दा बढी समय लगाएर तयार पारेको डीपीआर सरकारलाई बुझाएको छ ।

प्रतिवेदन अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ सय बिघामा पूर्ण वातावरणमैत्री अत्याधुनिक औद्योगिक क्षेत्र बन्नेछ । यहाँ साना, मझौला र ठूला गरी तीन सय उद्योग स्थापना गर्न सकिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए ।

‘अहिले परामर्शदाताले बुझाएको प्रतिवेदनको मसिनो गरी अध्ययन भइरहेको छ, थोरै तलमाथि भए पनि कम्तीमा ५ सय बिघा क्षेत्रफलमा उद्योगहरु स्थापना गर्न सकिने देखिएको छ’ उनले भने, ‘एक हप्ताभित्र डीपीआर फाइनल हुन्छ र काम अघि बढ्छ ।’

औद्योगिक क्षेत्रमा सडक, विद्युत, ढल, पानी र फोहोर पानी उपचार संयन्त्र जस्ता विभिन्न पूर्वाधार निर्माणमा ५ अर्ब रुपैयाँ लाग्ने महाप्रबन्धक बस्नेतले बताए ।

प्रकाशित मिति : २०७४ चैत्र १ गते बिहिवार
प्रतिक्रिया