विमान दुर्घटना हुँदा २ अर्ब नोक्सानी

सोमबार युएस बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटना हुँदा करिब तीन घन्टाभन्दा बढी त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बन्द भयो। दुर्घटनामा ४९ जनाको ज्यान गयो। १७ वर्ष पुरानो बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको जहाजको पनि सबै भाग नस्ट भयो।

मानवीय क्षतिसँगै यो दुर्घटनाले नेपाली अर्थतन्त्रलाई समेत नराम्रो धक्का पुर्याएकाे छ। पहिलो, अन्तर्राष्ट्रिय उड्डयन सुरक्षाको प्रश्न हामीमाथि फेरि तेर्सिएको छ। दोस्रो, दुर्घटनापछि विमानस्थल बन्द हुँदा नेपालले आर्थिक क्षति समेत व्यहोरेको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयरलाइन्स कम्पनीहरूसँग सेवा प्रदान गरेबापत एक दर्जनभन्दा बढी शीर्षकमा सेवा शुल्क लिने गर्छ। भन्सारबाहेक नै नागरिक उड्ड्यन प्राधिकरण अन्तर्गत ठूलो कारोबार विमानस्थलले गर्छ। विमानस्थल विश्वमै महँगो सेवा अन्तर्गत पर्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कारोबार रकम ठूलो परिमाणमा हुनेगर्छ।

त्रिवि विमानस्थलले भन्सार, विमान उडान, अवतरण तथा पार्किङ सबै गरी दैनिक करिब ७ अर्ब रुपैयाँ कमाउँछ।

एसबी २११ उडान दुर्घटना हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कति नोक्सानी पुग्यो त ?

सम्बन्धित अधिकारीहरु भन्छन्, ‘तीन घन्टाभन्दा बढी विमानस्थल बन्द हुँदा २ अर्बभन्दा बढी नोक्सानी भएको छ।’

युएस बंगलाको विमान दुर्घटनाको ‘टाइमिङ फ्याक्टर’का कारण पनि विमानस्थलले बढी नोक्सानी भोग्नु परेको नागरिक उड्डयन अधिकारीहरूकाे भनाइ छ। सोमबार ढाकाबाट काठमाडौं आइरहेको युएस बंगलाको जहाज विमानस्थल उत्तरपूर्वको चउरमा दिउँसो २ः१८ मा दुर्घटनाग्रस्त भएको थियो। त्यो समय भनेको त्रिवि विमानस्थलमा सबैभन्दा बढी उडान तथा अवतरण हुने समय हो।

विमानस्थल बन्द भएको तीन घन्टाभित्र ६० वटा (आन्तरिक र अन्तर्राष्ट्रिय) उडान—अवतरणको सूची थियो। विमानस्थल बन्द हुनासाथ काठमाडौं आइरहेका जहाजहरुलाई विमानस्थल एयर ट्राफिक कन्ट्रोलले अरु नै गन्तव्यमा फर्किन खबर गरेको थियो। दुर्घटनाको पहिलो दश मिनेटमा अवतरणकाे लागि एप्राेच गरिरहेका र नेपाली अाकाशमा आइपुग्नै लागेका सात अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएकाे थियाे। टाढै रहेका विमानलाई उतै फर्किन भनिएकाे थियाे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान ६ बजेदेखि राति १२ः३० सम्म सञ्चालन हुन्छ। दिउँसो विमानस्थल बन्द भएका कारण मंगलबार बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन भएको थियो।

नागरिक उड्डडन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले उडानबाट घाटा नभए पनि आगमनमा भने ठूलो असर परेको बताए। ‘केही असर अहिले तत्काल देखिने हुन्छन्। केही महिनौंसम्म असर पर्ने किसिमका हुन्छन्’, उनले नेपालखबरसँग भने, ‘विमानस्थलमै दुर्घटना भएका कारण यसका प्रत्यक्ष र अप्रत्यक्ष दुई किसिमका नोक्सानी हामीले नाेट गरेका छाैं।’

विमानस्थलले एक दर्जनभन्दा बढी शीर्षकमा एयरलाइन्स कम्पनीहरुसँग शुल्क उठाउँछ। ल्याण्डिङ, पार्किङ, भूमिस्थ प्रबन्ध, हाउजिङ, सञ्चार तथा उड्डयन सेवा शुल्क विमानस्थलले लिनेगर्छ। यसैगरी हवाई इन्धन बिक्री, कार्गो ढुवानी, कार्गो प्रबन्ध, सवारी साधन पार्किङ, प्रवेश, भीआईपी रुम प्रयोग, ह्यांगर बहाल, सेक्युरिटी चार्ज, यात्रु परिवहन सेवा, यात्रु सेवा सुविध, विमानस्थल विकास शुल्क, अग्नि निवारण तथा जीर्णोद्वार सेवा शुल्क, व्यागेज, स्क्रिनिङ शुल्कबापत विमानस्थलले रकम असुल्ने गर्छ।

सोमबार विमानस्थल बन्द हुँदा एउटा २ः३० पछि उडान—अवतरण तालिका भएका जहाजहरुको सेवा केही समय ठप्पै भयाे। नेपाल बायु सेवा निगमले तीन उडान गर्न सकेन। नेपाल वायु सेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ तीन वटा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा आर्थिक नोक्सानी भएको बताउँछन्।

अर्काे एउटा एयरलाइन्सले पनि अन्तरार्ष्ट्रिय उडान गरेन। दिउँसो विमानस्थल बन्द हुँदा भएकाे असरस्वरुप मंगलबार बिहान ३ बजेसम्म उडान—अवतरण जारी रह्याे।

विमानस्थलमा समस्या देखिए वा एयर ट्राफिकका कारण जहाज आकाशमै होल्ड गर्नुपर्दा यात्रु र विमानको अनावश्यक समय आकाशमै बित्छ। यसले असुरक्षा र प्रदूषण बढाउँछ। एयरलाइन्स कम्पनीहरुलाई आर्थिक नोक्सानी समेत पुर्याउँछ।

सम्बन्धित अधिकारीहरुका अनुसार एक घन्टा विमान आकाशमा होल्ड हुँदा १२ सयदेखि १५ सय लिटर तेल खर्च हुनेगर्छ। एक लिटर हवाई इन्धनको मूल्य १ सय ३३ रुपैयाँ पर्छ। यस हिसाबले एक घण्टा विमान होल्ड हुनु भनेको एयरलाइन्स कम्पनीलाई १ लाख ६६ हजार तेलकै मात्र घाटा लाग्नु हो।

देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै मात्र धावनमार्ग छ। यहाँ एक पटकमा एउटा मात्र विमानले अवतरण वा उडान गर्न सक्छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट वार्षिक सरदर ५० लाख यात्रु ओहोर दोहोर गर्छन्। विमानस्थलकाअनुसार यो अंक वार्षिक १३ प्रतिशतले बढ्दै गइरहेको छ। यो विमानस्थलमा हाल १५ देशबाट ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन्। तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गर्छन्। आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन्।

नेपालखबरबाट

प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया