किन गए मेयर सोझै सडक कार्यालयमा ?

घोराही, २५ फागुन

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सडक बिस्तार र निर्माणाधीन पुलको अबस्थाका बारेमा सडक डिभिजन कार्यालयका प्रमुख सँग जानकारी लिनुभएको छ । लामो समय सम्म सडक र पुलको काम रोकिदा नागरिकलाई सास्ती भएको अबस्थामा पटक पटक ध्यानआकर्षण गराउदै आउनुभएका मेयर चौधरीले शुक्रबार कार्यालयमै पुगेर डिभिजन प्रमुख बद्रिप्रसाद शर्मा सँग कामको बारेमा जानकारी लिनुभएको हो ।
घोराही बजारका सडक र नगर क्षेत्रका पुल बर्षौ सम्म पनि बन्न नसक्नुको कारण बारेमा मेयर चौधरीले जानकारी लिनुभएको हो । डिभिजन प्रमुख शर्माले तुलसीपुर चोक देखी पश्चिम तर्फको सडक कालो पत्रेमा स्थानियले अदालतबाट मुद्धा जितेर आएकाले काम रोकिएको जानकारी दिनुभयो ।
त्यसैगरी, गणतन्त्र चोक देखी कटुवा खोला सम्मको सडक बिस्तारमा अर्थ मन्त्रालयबाट बजेट नआएका कारण ठेकेदारले काम गर्न नसकेको जानकारी दिनुभयो । करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने भएपनि अर्थ मन्त्रालयबाट बजेट नआउदा काम हुन नसकेको ठेकेदार कम्पनीले सडक बिभागलाई जानकारी गराएको छ ।

त्यसैगरी, कटुवाखोलामा पुल निर्माणले गति लिन खोजे पनि बजेट नहुदा काम नभएको ठेकेदारले सडक कार्यालयलाई जानकारी दिएको छ । पुल निर्माणको बजेट सडकमा खर्च गरेको र अहिले दुबै काम अलपत्र अबस्थामा रहेको सडक कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।
मेयर चौधरीले डिभिजन प्रमुख शर्मा सहित ईन्जिनियरहरुलाई बजेटका लागि पहल थाल्न र धुलो नियन्त्रणका लागि दैनिक नियमित पानी चार्न निर्देशन दिनुभयो । मेयर चौधरीले अदालतबाट मुद्धा जितेर आएका व्यक्तिहरु सँग छलफल गरेर निकास निकाल्ने, आबस्यक बजेट व्यवस्थाका लागि केन्द्र अर्थ मन्त्रालयबाट बजेट माग गर्ने काममा आफु लाग्ने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया