तुलसीपुर उपमहानगरले सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने

तुलसीपुर,२२ फागुन ।

तुलसीपुर उपमहानगरपालिकाले सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको २२ औ वैठकले वडा नम्वर २ को तकियापुर र १८ को हेमन्तपुरमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताएका छन् ।

यसभन्दा अगाडि तुलसीपुर उपमहानगरपालिकाका चार ठाउँमा यस्ता क्लिनिक स्थापना भइसकेका छन् । यसैगरी वडा नम्वर १२ को हरिपौरी र ७ को पर्सेनीमा वाह्य खोप केन्द्र स्थापना गरिने भएको छ ।

‘स्वास्थ्य जाँच र खोपका लागि टाढा टाढा जानुपर्ने वाध्यताका अव अन्त्य हुनेछ’ नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले अन्य वडामा पनि यस्ता क्लिनिक सञ्चालन गर्न लागेको जानकारी समेत दिए । यसैगरी कार्यपालिकाको वैठकले तुलसीपुर उपमहानगरले फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न थालेको विच भलिवल प्रतियोगितालाई सफल वनाउनका लागि सबै पक्षलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ ।

बैठकमा कार्यक्रमलाई भव्य वनाउनका लागि ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशरवहादुर विष्ट लगायतको सहभागिता रहने समेत जानकारी गराइएको थियो ।

कार्यपालिका वैठकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हामी भन्छौ, महिला पहिला–आसनमा , भाषणमा र शाषणमा भन्ने अभियानको विशेष कार्यक्रममा साथमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम आयोजना गर्नका लागि उपमेयर माया आचार्यको अध्यक्षतामा सम्पूर्ण कार्यपालिका सदस्यहरु समितिको सदस्य रहने गरि समिति गठन समेत गरिएको नगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया