समाचार कपी गरेकै कारण कारबाही गर्नुनपरोस् : धर्मेन्द्र झा

 तुलसीपुर१७चैत्र ।  नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झाले समाचार कपि गरेकै कारण संचार माध्यमलाई कारवाही गर्नुपर्ने अवस्था नआओस् भन्नेमा आफु रहेको बताउनु भएको छ । सञ्चार माध्यमका प्रकाशक र सम्पादकहरूमाझ तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा झाले देशैभरका सञ्चार माध्यमलाई सचेत गराउन जिल्ला दौडाहमा हिँडेको  बताउनुभयो ।

‘कुन मिडियाले समाचार  कपी गर्छन भन्ने कुरा हामीलाई पनि थाहा छ । त्यसकारण राससले उत्पादन गरेका समाचारहरु किनेर प्रकाशित गर्नुस् । राससलाई स्वीकार गर्नहुन्न हुन्न भने समाचार पनि नचोर्नुस । ताकि भोलि कारबाही गर्ने अवस्था नआओस् ।’ झाले भन्नुभयो । दाङका २/४ वटा मिडियाले मात्रै राससका समाचार किने पनि अधिकांशले अनधिकृत रुपमा राससले उत्पादन गरेको समाचारहरू हुबहु कपी गर्ने गरेको अध्यक्ष झाले आरोप लगाउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले प्रदेश एकाइ मार्फत मिडियालाई अहिले लिदै आएको शुल्कमा कमी गर्न सकिने बताउनुभयो । तुलसीपुर वा दाङको समाचार भन्दा डोल्पा वा मुगुको समाचार दाङका लागि कम चासोको विषय हुने भएकाले प्रदेश एकाइ मार्फत पनि कम शुल्क लिएर धेरै मिडियालाई समेट्न सकिने अध्यक्ष गौतमले बताउनुभयो ।

सो अवसरमा रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेतले नेपालका सञ्चार माध्यमको बारेमा रासस पनि जानकार भएकाले थोरै शुल्क लिएर धेरै मिडियालाई समेट्दा उपयुक्त हुने सुझाव दिनुभयो ।  रासले उत्पादन गरेका समाचारको बिक्रीका बारेमा मार्केटिङ प्रमुख राजाराम कार्कीले प्रकाश पार्नुभएको थियो । राससले काठमाण्डौ बाहिरका  एफएम रेडियो र पत्रिकाको हकमा मासिक २७ सय र अनलाइनका लागि ५५ सय रुपैयाँ लिने गरेको छ । तर एक वर्षको अग्रिम शुल्क बुझाएमा १५ प्रतिशत छुट दिने राससले बताएको छ ।
भेटघाट कार्यक्रम रासस प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको थियो । 

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार
प्रतिक्रिया